सामाजिक सुरक्षामा जान मजदुरको जोड
काठमाडौं । मजदुरहरुले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने कामलाई ढिलाई गर्न नहुने बताएका छन् ।
नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनको ३९औं स्थापना दिवसको अवसरमा मजदुरहरुले सामाजिक सुरक्षा कोषमा तत्काल सहभागी हुनुपर्ने बताएका हुन् । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषमा सहभागी हुनका लागि आफूले काम गर्ने संस्थालाई दावाव दिन आग्रह गरे । उनले होटल सञ्चालकहरुले मजदुरको पैसा चलाउन नपाउने भएकाले सामाजिक सुरक्षामा आवद्ध हुन नचाहेको आरोपसमेत लगाए ।
कार्यक्रममा जिफन्ट अनुसन्धान निरीक्षण आयोगका अध्यक्ष विष्णु लम्सालले सामाजिक सुरक्षामा सहभागी भएमा श्रमिकहरुको भविष्य सुरक्षित हुने बताउँदै तत्काल कोषमा आवद्ध हुन आग्रह गरे । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनका वरिष्ठ उपाध्यक्ष बंशी भट्टराईले श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषको बारेमा राम्रो जानकारी नहुँदा दवाव दिन नसकेको बताउँदै उनले श्रमिकहरुले लिंदै आएको उपदानलाई यथावत राख्ने सम्झौता गरेर सामाजिक सुरक्षामा सहभागी हुन आफूहरु तयार रहेकोसमेत जानकारी दिए ।
त्यस्तै होटल एशोसिएसन अफ नेपाल (हान)का महासचिव साजन शाक्यले सामाजिक सुक्षामा जाने विषयमा श्रमिक र व्यवसायीहरुबीच छलफल गरी समस्या समाधान गर्न सकिने बताएका छन् । समाजिक सुरक्षामा आवद्ध हुँदा दुईवर्षमा चार किस्ता तिर्नु पर्ने व्यवस्थाले समस्या आएको उनको भनाई थियो ।
मजदुरहरुले होटल सञ्चालकहरुले ऐनमा दोहोरो कर बुझाउनु पर्ने व्यवस्था रहेको भन्दै समाजिक सुरक्षा कोषमा नगएको आरोपसमेत लगाएका छन् ।







डिसी नेपाल








Facebook Comment