भलिबलमा ‘चेली’का ओशिला आँखा…

डिसी नेपाल
१७ मंसिर २०७६ २०:२९

काठमाडौं। रेफ्रीको सिटीसँगै नेपाली चेलीका आँखा रसाय। उनीहरु सम्हालिन सकिरहेका थिएनन्। केही मिनेट अघिसम्म सोर मच्चाइरहेका दर्शकहरु निःशब्द रहे। दर्शकदिर्घाबाट कुनै आवाज निस्केन। समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरुले एउटा न्यूजको लाइन बनाइसकेका थिए। एकाएक परिवर्तन भए।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगाशालाको भलिबल कोर्टमा अबेर साढे ६ बजेको वातावरण हो यो। १३ औं दक्षिण एशियाली खेकुलद प्रतियोगिता (साग) अन्तर्गत मंगलबार भलिबलको फाइनल खेल हुँदै थियो।

दिउँसो ४ बजे खेल शुरु हुँदा समूह चरणमा भारतसँग सोझो सेटमा पराजित नेपालले कडा टक्कर दिनेमात्र आशा थियो दर्शकहरुमा। नेपाल सागको इतिहासमा महिला भलिबलमा पहिलो पटक फाइनलसम्म पुगेको थियो। प्रतिद्वन्दी थियो भारत। भारतले नेपाललाई समूह चरणमा पराजित गरिसकेको हुनाले पनि यो खेलमा नेपाल टक्करमात्र दिने आशा दर्शकको भएको होला।

दिउँसो ४ बजे खेल शुरु हुँदा २ हजार क्षमताको भलिबल स्टेडियममा करिब १० हजार दर्शक उपस्थित थिए। बस्ने कुर्सी नभएपछि भुँईमै बसेर पनि दर्शकहरु खेल हेर्न पुगेका थिए। जब खेल शुरु भयो भारतले नेपालमाथि पहिलो सेटमा सजिलै पाखा लगायो। नेपालले पहिलो सेट १७–२५ मा गुमायो। दर्शकहरु खेलको मजामात्र लिइरहेका थिएनन्, नेपाली चेलीको मनोबल बढाउन हुटिंग पनि गरिरहेका थिए। साथमा ढोल नगरा पनि बजिरहेका थिए। जब नेपालले दोस्रो सेटमा भारतलाई २३ मै रोकेर जित निकाल्यो नेपालको अब आशा पलायो। नेपाली स्पाइकरहरु पनि एकाएक फुर्तिला देखिए। भारतीय खेलाडी शिथिल। नेपालले दोस्रो सेट २५–२३ ले जित्यो।

एक सेट जितिसकेपछि नेपाली चेलीको हौसला बढेको थियो। तेस्रो सेटमा नेपाली चेली आक्रामक बने। भारतलाई २१ मै रोक। लगातार दुई सेट जितेपछि दर्शकहरु सोर मच्चाउन थाले। स्पाइकरहरु पनि जोशमा आए। नेपालले इतिहास रच्ने सुनौलो अवसर पायो।

खेल हो नजिता सबै आफ्नो पक्षमा हुँदैन। चौथो सेटमा पनि राम्रो शुरुआत गरेको नेपाल अन्तिम तरि सम्हालिन सकेन। भारतले चौथो सेट २५–२० मा जित्यो।

नेपालका लागि अझै एक र अन्तिम मौका थियो। पाँचौ सेटमा १५ को स्कोर खेलको निर्णय हुने भएकाले शुरुमा स्कोर गर्न आवश्यक थियो। तर, सोचे जस्तो हुन सकेन। भारतले ८ स्कोर गर्दा मात्र नेपाल २ को स्कोरमा थियो। नेपालले पाँचौ सेट ६–१६ ले गुमायो।

पाँचौ सेटमात्र गुमाएको थिएन, नेपालले महिला भलिबलमा स्वर्ण पदक पनि गुमाएर इतिहास रच्नबाट पनि चुकेको थियो। ऐतिहासिक उपलब्धिको सन्निकट भएर पनि चुक्नुपर्दा नेपाली महिला खेलाडीहरुको आखाबाट आँशु बगे। दर्शकहरु निराश बने। खेल सकिएपछि जब महिला खेलाडीहरु दर्शकलाई धन्यावाद दिन आएका थिए, सबै खेलाडीका आँखा राता थिए, आँखामा आँशु थियो, आँखा ओशिला थिए।

शब्द : खेमराज थापा, तस्वीरहरु : रमण मानन्धर/डिसीनेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *