विद्यालय केन्द्रित प्रमोशनमा उत्रियो ‘मेरी मामु’ यूनिट, ७ वर्षीय आयुबको देखियो यस्तो क्रेज

डिसी नेपाल
१७ साउन २०७५ ६:५३

काठमाडौं । भदौ १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी मामु’ यूनिटले विद्यालय केन्द्रित प्रमोशन सुरु गरेको छ । बाल मनोविज्ञानमा आधारित चलचित्र भएका कारण पनि चलचित्र यूनिट विद्यालय केन्द्रित प्रमोशनमा निस्किएको हो ।

पछिल्लो एक सातादेखी चलचित्र यूनिट काठमाडौंका विभिन्न विद्यालयमा पुगेको छ । गत शुक्रबारमात्रै चलचित्रमा समावेश ‘आमा’बोलको गीत सार्वजनिक गरेसंगै चलचित्र यूनिटले प्रचारप्रसारलाई तिव्रता दिएको हो ।

चलचित्रका मुख्य कलाकार ७ वर्षीय आयुब सेनसहित चलचित्रका अन्य कलाकार तथा यूनिट दर्जन बढी विद्यालयमा पुगिसकेका छन् । काठमाडौंका विद्यालयमा प्रमोशनपश्चात यूनिट काठमाडौं बाहिर सहरका विद्यालयहरुमा पुग्ने निर्माता सन्तोष सेनले डिसी नेपाललाई जानकारी दिए ।

बालबालिका केन्द्रित चलचित्र भएकाले यसबारे बालबालिकालाई जानकारी गराउने उद्धेश्यले विद्यालय केन्द्रित प्रमोशन गरिएको पनि सेनले बताए । अबको झण्डै एक महिना चलचित्र यूनिटले यस किसिमको प्रमोशन अंगाल्नेछ ।

काठमाडौंका विद्यालयमा पुग्दा चलचित्रप्रति बालबालिकाहरु उत्साहित देखिएका छन् । विद्यालयमा सार्वजनिक ‘आमा’बोलको गीत देखाईएको थियो । जुन गीत हेरेपछि विद्यार्थी तथा शिक्षकहरु भावुक भएको सेन बताउँछन् । चलचित्र प्रचार–प्रसारसंगै आमा र छोराको सम्बन्धबारे गतिलो सन्देश दिन विद्यालयमा पुगेको निर्माता सेनको तर्क छ ।

विद्यालयमा पुगेको यूनिटले विद्यार्थीहरुलाई आषुशेन फिल्मसबाट उपलब्ध पर्चिमा आफ्नो आमाको बारेमा केही शब्द कोर्न लगाएको छ । सो पर्चिलाई संकलन गरी देशभरबाट संकलितमध्ये गोला प्रथाबाट लक्की ५ जना बच्चा आफ्नो आमासंग निःशुल्क ३ दिन २ रातको थाइल्याण्ड भ्रमण प्याकेज व्यवस्था गरिनेछ । यसकारण पनि स्कूल क्याम्पेन चलचित्र प्रचार–प्रसारका लागि मात्र नभएर आमा र बच्चाको बलियो सम्बन्ध स्थापनाको लागि भएको निर्माता सेन बताउँछन् ।

चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निर्माता सेनका ७ बर्षिय छोरा आयुब सेनको साथमा, सारुक ताम्राकार, नायिका अश्लेषा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्लको मुख्य भूमिका छ ।

यसअघि लभस्टोरी ‘चंखे शंखे पंखे’, ‘प्रेम गीत’, ‘प्रेम गीत २’ जस्ता लभस्टोरी जनरामा आधार रहेर चलचित्र निर्माण गर्दै आएको आशुषेन फिल्मसले मेरी मामुमा विशेष कथा उठाएको छ । निर्माता सेन भन्छन– ‘अहिले विशेष कथा उठाएका छौं, यसले सम्पूर्ण आमा–छोराको मन छुनेछ । यसकारण पनि चलचित्र सफल हुने पूर्ण आशावादी छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *