प्रतिनिधिसभा बैठकमा सांसदद्धारा सरकारको ध्यानाकर्षण, कसले के भने ?

डिसी नेपाल
३० साउन २०७५ ६:३९

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराए ।

नेपाली काँग्रेसका विमला नेपालीले देशभरका दलित दिनप्रतिदिन प्रताडित भएको गुनासो गर्दै त्यस्तो अमानवीय व्यवहार अविलम्ब अन्त्य हुने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन ।

सोही पार्टीका भरतकुमार शाहले सप्ताह भन्ने पण्डितदेखि सर्वसाधारणसम्मलाई करको मारमा पारिएको गुनासो गर्दै करका कारण सङ्घीयता जोखिममा नपरोस् भने ।

नेपाल कम्युनिष्ट पार्टीका भुपेन्द्रबहादुर थापाले वर्षाका कारण बेनी–जोमसोम बाटो अवरुद्ध भएकाले त्यसलाई खुलाउन आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सोही पार्टीका महेश्वरजंग गहतराजले मधेश आन्दोलन र जनआन्दोलनका घाइतेको भरणपोषणको प्रबन्ध गर्न माग गरे।

नेपाली काँग्रेसका मीना सुब्बाले जनतालाई महसुस हुने गरी मन्त्रिपरिषद्का सदस्यबाट काम प्रारम्भ भएकामा अहिले त्यो सुस्ताएको आरोप लगाईन्। सोही पार्टीका रंगमती शाहीले हुम्ला र डोल्पामा शिक्षक सेवा आयोगको परीक्षा केन्द्र तोक्न आग्रह गरिन्।

नेपाली काँग्रेसका राजेन्द्र केसीले त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक समस्या समाधान गर्न सकारसँग माग गरे । सोही पार्टीका रामबहादुर विष्टले मोरङको जाँतेस्थित जाते माध्यमिक विद्यालयको खानेपानी टयाङ्कीमा विषादी मिसाउनेमाथि कारबाहीको माग गरे ।

नेपाल कम्युनिष्ट पार्टीका रेखा शर्माले वर्षायाममा विकास–निर्माणका काम गर्ने परिपाटी अन्त्य हुनुपर्ने र निर्माण व्यवसायीलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराईन् । सोही पार्टीका लक्ष्मीकुमारी चौधरीले गरीबको परिचयपत्र खास गरीबले नपाएकाले त्यसको छानबिन गर्न माग गरिन्।रासस


No ads found for this position

प्रतिक्रिया

One thought on “प्रतिनिधिसभा बैठकमा सांसदद्धारा सरकारको ध्यानाकर्षण, कसले के भने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *