महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

डिसी नेपाल
१ भदौ २०७५ ८:२६

महेन्द्रनगर, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन् । दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताए ।

महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम ल्याएको उल्लेख गर्दै उनले शिक्षा र रोजगारीमा महिलाको पहुँचलाई सुनिश्चित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । विभिन्न सामाजिक कुरीतिका कारण महिला वर्षांैदेखि विभेदमा रहँदै आएको टिप्पणी गर्दै उनले प्रदेश सरकार त्यस्ता कुरीति अन्त्य गर्न सशक्त कानून ल्याउन लागेको जानकारी दिए ।

प्रदेश सरकारले ल्याउन लागेको प्रहरी ऐनमा समेत आरक्षणमा महिलाका लागि पचार प्रतिशत सिट सुरक्षित गरेको उल्लेख गर्दै उनले अन्य रोजगारीको अवसरमा समेत महिलालाई आधा सिट सुरक्षित गर्ने बताए । सामाजिक विकास मन्त्रालयका सचिव देवीराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बालविवाह, दाइजो प्रथाजस्ता कुरीतिले महिलालाई अन्यायमा पारेको बताउँदै त्यस्ता कुरीतिलाई अन्त्य गर्न प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । -रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *