‘नाइँ नभन्नू ल–५’ र ‘रेनी’ प्रदर्शनमा

डिसी नेपाल
८ भदौ २०७५ ८:०४

काठमाडौं । आज शुक्रबारदेखि दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र हुन, ‘नाँइ नभन्नू ल ५’ र ‘रेनी’ ।

‘नाइँ नभन्नू ल’को पाँचौँ सिक्वेलका रूपमा आएको ‘नाइँ नभन्नू ल ५’ विकासराज आचार्यको निर्माण, निर्देशनमा बनेको चलचित्र हो । गीत संगीत र ट्रेलरका कारण रिलिज अगावै दर्शकमाझ प्रतिक्षित बनेको यस चलचित्रमा प्रियंका कार्की, नीरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्का र बाल कलाकार अनुभव रेग्मी लगायतको मुख्य अभिनय छ । अभिनेता अभिषेक नेपाल र बाल कलाकारमा सेड्रिना शर्माले यो चलचित्रबाट अभिनयमा डेब्यु गरेका छन् ।

पारिवारिक प्रेमकथामा निर्मित यो चलचित्र इलाम र झापामा छायाँकन गरिएको छ । हरिबोल भण्डारी र गौरी जोशी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल छन् । चलचित्रमा निर्देशक आचार्य र पत्रकार सामिप्यराज तिमिल्सेनाको लेखन छ । वान टाइम सिनेमाको ब्यानरमा बनेको ‘नाइँ नभन्नू ल–५’ का वितरक सुनील मानन्धर हुन् ।

‘नाइँ नभन्नू ल ५’संगै प्रदर्शनमा आएको चलचित्र ‘रेनी’ त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको चलचित्र हो । बिमला मल्ल र सञ्जिव मल्लको निर्माण रहेको चलचित्रलाई गिरिश रिजालले निर्देशन गरेका हुन् ।

चलचित्रमा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको स्क्रिप्ट डेब्यु नायिका सनमले लेखेकी हुन् ।

शाही मल्ल फिल्म्सको ब्यानरमा निर्मित ‘रेनी’ गोविन्द शाहीले वितरण गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *