एशियाली खेलकूदमा नेपालकी ताराले बनाइन् तीन राष्ट्रिय कीर्तिमान

डिसी नेपाल
१० भदौ २०७५ २३:५७

काठमाडौं । इण्डोनेसियमा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आइतबार तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

बाह्रौँ दक्षिण एशियाली खेलकूद (साग)की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कूलमा १७५ केजीको भारवहन गरिन् ।

यसअघि स्न्याचमा ताराको नाममा ७३ केजीको कीर्तिमान थियो । ताराले स्न्याचमा तेस्रो लिफ्टमा कीर्तिमान रचेकी हुन् । पहिलो लिफ्टमा ७० केजी उठाएकी तारा दोस्रो लिफ्टमा ७४ केजी भार वहन असफल रहिन् । तेस्रो लिफ्टमा मात्र तारा ७४ केजी वजन उचाल्न सफल भएकी थिइन् ।

क्लिन एन्ड जर्कमा ९७ केजी र कूलमा १७० केजीको कीर्तिमान पनि ताराकै नाममा थियो । तीनै कीर्तिमान ताराले नेपालगञ्जमा गत जेठमा भएको एशियाली खेलकूदको छनोटमा राखेकी थिइन् । क्लिन एण्ड जर्कमा ताराले तीन लिफ्टमा क्रमशः ९३ केजी, ९८ केजी र १०१ केजी भारवहन गरेकी थिइन् । ताराले दोस्रो लिफ्टमै आफ्नो ९७ केजीको कीर्तिमानमा सुधार गरिसकेकी थिइन् ।

भारोत्तोलनमा नेपालको प्रतिस्पर्धा सकिएको छ । तारासहित चार खेलाडीले भारोत्तोलनमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा सञ्जु चौधरी र कमलबहादुर अधिकारीले पनि राष्ट्रिय कीर्तिमान बनाए भने विकास थापा राष्ट्रिय कीर्तिमान बनाउन असफल भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *