यी हुन् चितवन टाइगर्समा दुई विदेशी खेलाडी

डिसी नेपाल
१२ भदौ २०७५ २:५२

चितवन टाइगर्सले आउदो टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताका लागि आफ्नो टिममा दुई विदेशी खेलाडी ल्याएको छ । दोस्रो संस्करणको ईपीएल नोभेम्बरको तेस्रो सातामा हुने कार्यक्रम रहेको छ ।

इंग्ल्यान्डका प्रतिभाशाली युवा खेलाडी म्याक्स होल्डेन र न्युजिल्यान्डका जेम्स फुलरलाई चितवन टाइगर्सले भित्राएको हो । इंग्ल्यान्ड यू–१९ टोलीका पूर्व कप्तान २० वर्षे होल्डेन ब्याटिङ अलराउन्डर र मिडलसेक्सका २८ वर्षे फुलर बलिङ अलराउन्डर हुन् ।

मिडल्सेक्सबाटै काउन्टी क्रिकेट खेल्दै आएका होल्डेनको ट्वान्टी–२० मा स्ट्राइक रेट १ सय ३७ माथि रहेको छ । ४४ प्रथम श्रेणीको म्याच खेलिसकेका फुलरले ट्वान्टी–२० मा ७६ म्याच खेल्नेक्रममा झन्डै १ सय ५० को स्ट्राइक रेटमा रन बनाउनुका साथै ९४ विकेट लिएका छन् ।

‘गत वर्षको प्रदर्शन सन्तोषजनक हुन नसकेको पृष्ठभुमिमा टिमलाई राम्रो बनाउन राम्रै खेलाडी लिने प्रयासमा दुई प्रतिभाशाली इंग्लिस खेलाडी लिएका छौं । यसले टिमलाई नया उर्जा दिन्छ भन्ने विश्वास हाम्रो टिमको छ,’ चितवन टाइगर्सका मालिक किशोर भट्टराईले भने । उनले तेस्रो विदेशी खेलाडीको पनि छिट्टै टुंगो लगाउने जनाए ।

दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्समा अनिल मण्डल, दीलिप नाथ, सन्दीप सुनार, भिम सार्की, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहव आलम लगायत खेलाडी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *