नेपाली काँग्रेसद्वारा पार्टीको मस्यौदा समितिको कार्यविधि स्वीकृत
काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीको विधान संशोधन मस्यौदा समितिको कार्यविधि, २०७५ लाई स्वीकृत गरेको छ।
पार्टीको विधान संशोधन मस्यौदा समितिको मंगलबार बसेको बैठकले सो कार्यविधि पारित गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पार्टीका महामन्त्री एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले विधानमा गरिनुपर्ने संशोधन र परिमार्जनका विषयमा काङ्ग्रेस कार्यसमिति, सङ्घीय संसदीय दल र काङ्ग्रेस प्रदेशसभा संसदीय दलबाट लिखित रायसुझाव पठाउनका लागि अनुरोध गर्ने निर्णय गरेको छ।
पार्टीनिकट सबै भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाहरु र विदेशस्थित सबै जनसम्पर्क समितिबाट यही भदौ २१ गतेभित्र केन्द्रमा प्राप्त हुने गरी संस्थागत रायसुझाव पठाउनका लागि अनुरोध गर्ने निर्णय गरेको उनले बताए।
काङ्ग्रेसले पार्टीका सदस्य, मतदाता, शुभेच्छुकलगायत सर्वसाधारण सबैबाट विधानमा गरिनुपर्ने संशोधन र परिमार्जनका विषयमा रायसुझाव पठाउन अनुरोध गरेको छ।
काङ्ग्रेसको यही भदौ ९ गतेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो। पार्टीले महासमितिको बैठकबाट पार्टीको विधानलाई समसामयिकरुपमा परिमार्जन गर्न भदौ ७ गते महामन्त्री खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment