जर्मनीले दिने ४ अर्ब ९ करोड अनुदान सहायता लिने सरकारको निर्णय

डिसी नेपाल
२१ भदौ २०७५ १५:५१

काठमाडौँ । सरकारले संयुक्त राष्ट्र सङ्घ शान्ति स्थापनार्थ साझा घोषणा पत्रलाई समर्थन गर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र सङ्घ शान्ति स्थापनार्थ साझा घोषणा पत्रलाई समर्थन गर्ने निर्णय गरेको हो। बैठकले शुक्रबार निजामती दिवसको अवसर पारेर पुरस्कृत गर्ने उत्कृष्ट कर्मचारीहरूको नामलाई पनि टुङ्गो लगाएको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए।

मन्त्री परिषद बैठकले जर्मन सरकारबाट प्राप्त करिव ४ अर्ब नौं करोड अनुदान सहायता लिने प्रस्ताव पनि स्वीकृत गरेको छ। पोखरा-लेखनाथ २ सय २० केभी विद्युत प्रसारण लाइन निर्माणका लागि सो बजेट खर्च गर्ने निर्णय पनि गरिएको मन्त्री विश्वकर्माले बताए। त्यसैगरी सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ पनि स्वीकृत गरिएको छ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियामा निर्मित अस्पताल भवनमा प्राथमिक तहको १५ शैयाको अस्पताल स्थापना गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ। सो अस्पतालको नाम शहीद सूर्यनाथ राम यादव स्मृति अस्पताल राखिने छ।

मुक्त हलिया पुर्नस्थापनाको समस्या समाधान समिति र मुक्त कमैया पुनर्स्थापना आयोग लाई कायमै राख्ने र यसै आर्थिक वर्ष भित्र मुक्त हलिया पुनर्स्थापना र मुक्त कमैया पुनर्स्थापना सम्बन्धी सबै समस्या समाधान गर्ने निर्णय पनि बैठकले गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *