सरकारले करमाथि कर थप्यो, सङ्घीयताप्रति वितृष्णा हुनसक्छ : सभापति देउवा

डिसी नेपाल
२४ भदौ २०७५ १५:२६

गुलरिया । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले जनतालाई कर र महङ्गीको भार थोपरेको आरोप लगाएका छन्।

नेपाली काङ्ग्रेस बर्दियाको जिल्ला सम्मेलनको आज यहाँ उद्‌घाटन गर्दै सभापति देउवाले जनतालाई विकास र सुशासन दिनुपर्नेमा उल्टै कर र महङ्गी बढाएर झन पीडा दिएको बताए।

उनले भने, ‘‘जनतालाई साँझ बिहानको छाक टार्न पनि गाह्रो भइरहेको बेला यसरी कर र महङ्गी बढाउँदा जनतामा सरकारप्रति मात्र होइन व्यवस्थाप्रति नै वितृष्णा आउन सक्छ।’’ हाल बढाइएको करलाई मान्न आफ्नो पार्टी तयार नरहेको पनि उनको भनाइ थियो।

सो अवसरमा महामन्त्री शशाङ्क कोइरालाले ५५ लाख युवा मुलक बाहिर श्रम बेचिरहेकाले उनीहरुलाई स्वदेशमै रोजगारीका लागि राज्यले ध्यान दिनुपनेमा जोड दिए। उनले पार्टीलाई एकढिक्का बनाएर लैजान कार्यकर्ताले पनि सहयोग गर्नुपर्ने धारणा राखे।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले करमाथि कर थपेको, जनतालाई सुरक्षाको अनुभूति दिन नसकेको र महङ्गी नियन्त्रण गर्न असफल भएको आरोप लगाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *