भूल्नै नसकिने त्यो दुःखद क्षण – Dcnepal

भूल्नै नसकिने त्यो दुःखद क्षण

सिबी अधिकारी

काठमाडौँ । विसं २०६३ असोज ७ गते मुलुकका लागि निकै दुःखद क्षण बन्यो । राष्ट्रको होनहार बहुआयामिक व्यक्तित्व वरिष्ठ भूगर्भविद्, संरक्षणविद् तथा योजनाकार डा हर्क गुरुङको भौतिक शरीर भूगोलमै विलिन हुनपुग्यो ।

यो केवल एउटा व्यक्तिको मृत्यु मात्र थिएन राष्ट्रको अमूल्य गहना हरण भएको क्षण थियो। ताप्लेजुङ्को घुन्सामा हेलिकप्टर दुर्घटनामा डा गुरुङसहित स्वदेशी तथा विदेशी २४ भूगर्भविद्, वातावरण एवं वनस्पतिविद्लाई गुमायौँ। डा गुरुङसहित महत्वपूर्ण व्यक्तिको निधन भएको आज १२ वर्ष पुगेको छ। सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनका अनेकनस्वरुप देखापरे तर पनि उहाँजस्तो मूर्धन्य व्यक्तिको अभाव अझै खड्किएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी अध्ययन अनुसन्धान र विकासको अवधारणालाई सही अर्थमा प्रयोग गर्ने डा गुरुङको निधनले नेपाललाई ठूलो क्षति पुगेको बताउछन्। “आजको अवस्थामा पनि उहाँको अभाव खड्किएको छ,” मन्त्री अधिकारीले भने

“डा गुरुङका अध्ययन अनुसन्धान समाजलाई नै उथलपुथल पार्ने हुन्थे। सामाजिक, भूराजनीतिक पाटोलाई बुझेको व्यक्ति हुनुहुन्थ्यो, अध्ययनको बहुआयामिक र ज्ञानको गहिराइले राष्ट्रको योजनाबद्ध विकासमा पारेको प्रभावले नै आज उहाँ हर्क गुरुङको पहिचानका साथ अविस्मरणीय बन्नुभएको छ,”–उनले भने।

नेपाल पर्यटन बोर्डसहित पर्यटन क्षेत्रका ११ भन्दा बढी निजी सङ्घ संस्थाको संयुक्त आयोजनामा आज भएको ‘डा हर्क गुरुङ स्मृतिसभा’ का अवसरमा बोल्दै मन्त्री अधिकारीले डा गुरुङको अध्ययन अनुसन्धानलाई समाज रुपान्तरणमा समाहित गराउन सकेमात्र उहाँप्रति सच्चा श्रदाञ्जलि हुने उल्लेख गरे। उनले भने,“डा गुरुङले पर्यटनको जग तयार गर्नुभयो । पर्यटन विकासको रेखा कोर्ने पर्यटन ऐन बनाउनुभयो । त्यसैको आधारमा नेपालको पर्यटन यहाँसम्म आइपुगेको छ, अब, समय सापेक्ष ऐनलाई सुधार्नुपर्ने भएकाले पुराना राम्रा विषयलाई समेत समेटेर अबको ६ महिनाभित्र नयाँ पर्यटन ऐन ल्याउनेछौं।”

मन्त्री अधिकारीले राष्ट्रका लागि योगदान दिएको महत्वपूर्ण व्यक्ति डा गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासन समेत दिए। कार्यक्रममा ट्रेकिङ एजेञ्सी एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले भूगोलविद् तथा योजनाकारको रुपमा मात्र नभइ नेपालको पर्यटनको आधारस्तम्भ तयार गरी नेपालको भूगोल र पर्यटनलाई विश्वमा चिनाउन डा गुरुङको महत्वपूर्ण योगदान रहेको भन्दै उनका सकारात्मक कामलाई अनुशरण गर्नसके मात्र उनीप्रति सच्चा सम्मान हुने उल्लेखगरे।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो