पार्टीको विधान संशोधनमा गम्भीर हुनुपर्छः डा कोइराला

डिसी नेपाल
१० असोज २०७५ ०:११

पोखरा। नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ऐतिहासिक कालखण्डमा बिपी कोइरालाले लेखेको पार्टीको विधानलाई गम्भीर भएर परिमार्जन गर्नुपर्ने बताएका छन्।

नेपाली काङ्ग्रेस कास्कीद्वारा मंगलबार पोखरामा विधान संशोधन एवं सुझाव सङ्कलन विषयमा आयोजित दुई दिने प्रदेशस्तरीय भेलामा उनले नेपाली काङ्ग्रेसलाई झन सङ्गठित र सर्वश्रेष्ठ पार्टी बनाउने खालका सुझाव दिन सबैमा आग्रह गरे।

नेपाली काङ्ग्रेसका विधानको सम्बन्धमा सुझाव दिने विषय संविधानको विपरीत नहुनेतर्फ कार्यकर्तालाई सचेत गराउँदै उनले पार्टीको विधानमा आवश्यकता अनुरुप सुझाव दिनुपर्नेमा जोड दिए।

पार्टी विधान संशोधन तथा सुझाव सङ्कलन टोली गण्डकी प्रदेशका संयोजक फरमुल्ला मन्सुरले गतिशील र सङ्गठित काङ्ग्रेस बनाउनका लागि पार्टीको विधानमा परिमार्जन गरेर एक तिहाइ पद आरक्षित गर्न लागिएको जानकारी दिए।

संविधानअनुरुप, समावेशी, समानुपातिकको आधारमा महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुश्लिमलगायतका वर्गलाई समेटेर विधान बनाउन लागिएको उनले स्पष्ट पारे।

विधान संशोधन तथा सुझाव सङ्कलन टोलीका सदस्य अमरसिंह पुनले काङ्ग्रेसलाई मजबुत बनाउने खालका सुझाव दिन आग्रह गर्दै पार्टीको विधानमा सम्मानित सदस्य, विशेष सदस्य, क्रियाशील सदस्य र गाउँ–टोली समितिको रुपमा वर्गीकरण गर्ने सोचाइ रहेको उल्लेख गरे।

नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको आन्तरिक शक्तिलाई बलियो बनाउनुपर्ने विषयमा जोड दिँदै युवा पुस्तालाई पार्टीको मूलधारमा ल्याउनुपर्ने आवश्यकता औल्याए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *