पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल छमछमी नाच्दा दर्शक चकित

डिसी नेपाल
२० असोज २०७५ १४:१२

काठमाडौँ । सधैँजसो राजनीतिक गतिविधि तथा कूटनीतिक भेटघाटमा सक्रिय हुने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छमछमी नृत्य प्रस्तुत गर्दाको दृश्यले धेरै दर्शकको मन जित्यो।

रौतहट–काठमाडौँ सम्पर्क समन्वय कमिटीले विजया दशमी, दीपावली तथा छठका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उनले सांस्कृतिक रुपमा एकताबद्ध हुन सन्देश दिए।

नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का नेता नेपाललाई महासचिव विष्णु पौडेल तथा नेताहरु प्रभु साह, बंशीधर मिश्र लगायतले साथ दिए। नेताहरुको सामूहिक नृत्यस्थल बनेको मञ्चमा व्यावसायिक फोटोग्राफरका साथै दर्शक दीर्घाबाट क्यामेरा र मोबाइलबाट तस्वीर लिनेको कमी थिएन।

सोही मञ्चमा एकछिन अगाडि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको भए पनि उनलाई नृत्य देखाउने अवसर आज जुरेन। उनी आजै गोरखा जाने हतारोले गर्दा समारोहलाई सम्बोधन गरेर निस्किए। अध्यक्ष दाहालले निरङ्कुश शासन तथा सामन्तवादविरुद्ध चेतना फैलाउन र कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन रौतहटको भूमिको ठूलो योगदान रहेको स्मरण गरे।

जनताको चाहनाअनुसार दुई ठूला कम्युनिष्ट पार्टीको एकता युगान्तकारी निर्णय भएको बताउँदै उनले भने, “सात दशकदेखिको राजनीतिक अस्थिरता अन्त्य भएको छ, अब जनताको आर्थिक विकाससहितको राष्ट्रिय समृद्धिका लागि आधार तय भएको छ।”

नेता नेपालले विगतदेखि नै त्यहाँका जनताले कम्युनिष्ट चिन्तनलाई संरक्षण गरेको बताउँदै विसं २०१५ को चुनावमा रौतहटले दुई स्थान प्राप्त गरेको स्मरण गरे। उनले पछिल्लो समयमा देशमा बढेको हत्या, हिंसा, बलात्कारका घटनाप्रति दुःख व्यक्त गर्दै अपराधीलाई पहिचान गरी कडा कारवाही गर्नुपर्नेमा जोड दिए।

महासचिव पौडेलले पार्टीभित्रको एकता प्रक्रियालाई चाँडो टुङ्गोमा पुर्याउन जनवर्गीय सङ्गठनबीच अन्तिम चरणको छलफल भइरहेको जानकारी दिए। नेताहरु सरला यादव, प्रभु साह, बंशीधर मिश्र, शिवहरि न्यौपाने लगायतले जनताले नेकपाको नेतृत्वमा मात्र आर्थिक विकास सम्भव देखेकाले त्यसतर्फ सरकार संवेदनशील बन्नुपर्ने बताउँदै पार्टी एकताले आर्थिक, सांस्कृतिक रुपान्तरणका लागि ऊर्जा थपेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *