नेकपाको चियापान कात्तिक १० गते

डिसी नेपाल
२३ असोज २०७५ १०:३६

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीले यस वर्षको दशैँ, नेपाल संवत्, दीपावली, छठलगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते शनिबार काठमाडौँको भृकुटीमण्डपमा चियापान गर्ने भएको छ।

पार्टी एकतापछिको पहिलो चियापानलाई राष्ट्रिय महत्वको ऐतिहासिक कार्यक्रममा रुपान्तरण गर्न पार्टीले तयारी गरेको छ। पार्टीका महासचिव विष्णु पौडेलको उपस्थितिमा आज पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा आयोजित बैठकमा व्यवस्थापन र तयारीमा लाग्न पार्टीको प्रदेश नं ३ कमिटी, उपत्यकास्थित कमिटी र जनसङ्गठनलाई परिचालन गर्ने निर्णय गरेको बैठकमा सहभागी प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।

विगतमा तत्कालीन नेकपा (एमाले) र एनेकपा (माओवादी केन्द्र) ले अलग अलगरुपमा चाडपर्वका अवसरमा चियापानको आयोजना गर्दै आएकामा गत जेठ ३ गते दुई पार्टीको एकतापछि पहिलोपटक चियापान कार्यक्रम आयोजना हुन लागेको हो।

यसैबीच, पार्टीको मातहतका कमिटीको एकतालाई पूर्णता दिने, सरकार र पार्टीको समीक्षा गर्नेलगायतका विषयमा छलफल गर्न बुधबार बिहान नेकपाको सचिवालय बैठक बस्दैछ। सो बैठकले पार्टीले स्थायी कमिटीको बैठकको मिति र कार्यसूची तय गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *