छठसम्म संविधान संशोधन नभए समर्थन फिर्ता लिने राजपाको घोषणा

डिसी नेपाल
१ कार्तिक २०७५ ११:२३

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले छठसम्मपनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन्

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘स्वयम् प्रधानमन्त्रीजीले संविधान संशोधन गर्छु भनेर कन्भिन्स गर्नुभएको छ।

हामीले संशोधनको लागि धेरै पटक सरकारसँग सम्झौता गरेका छौं । तर, अहिलेसम्म संशोधन भएको छैन । अहिलेपनि प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भनेर हामीलाई कन्भिन्स गर्नुभएको छ। छठसम्म हाम्रो समर्थन जारी रहन्छ । छठपछि पनि संशोधन भएन भने हामी समर्थन फिर्ता लिएर आफ्नो तरिकाले अघि बढ्छौं ।’

उनले भने,‘दुई तिहाईको सरकार गठन भएको छ । जनताले धेरै ठूलो अपेक्षा राखेका थिए । तर, अहिले सरकारको प्रस्तुति हेर्दा सन्तोषजनक छैन । कर मनलाग्दी उठाउने गरेको छ । यसले जनतामा निराशा छाएको छ। करको बोझ अब जनताले धेरै व्यहोर्न सक्दैनन्।

नेपालमा भ्रष्टाचार यसरी मौलाएको छ की संसारमै नेपाल भ्रष्टाचारमा पहिलो नम्बरमा छ । देशमा सुशासन छैन् । उथलपुथल देखिएको छ । अराजकता त्यस्तै बढिरहेको छ ।’

आफूहरुले पनि सरकारसँग धेरै आशा राखेको बताउँदै उनले भने,‘शान्ति स्थापना गर्नुपर्छ । यसो भयो भने विकासले तिव्रता लिन्छ । तर अहिले ठीक उल्टो भैरहेको छ । सरकारले यसमा विशेष ध्यान दिनुपर्छ ।’

५१ प्रतिशत जनसंख्या ओगटेको तराई मधेशलाई कुनैपनि हालतमा उपेक्षा गर्न नहुने उनको भनाई छ । उनले भने,‘तराई मधेशलाई उपेक्षा गर्नुहुँदैन् । उपेक्षा गरियो भने शान्ति हुँदै्न । शान्ति भएन भने मुलुकको विकास हुँदैन् ।’

संविधानका विभिन्न धाराहरु अहिलेपनि विभेदकारी रहेको बताउँदै उनले त्यस्ता विभेदकारी धाराहरुलाई संशोधनमार्फत सच्याउनुपर्नेमा उनको जोड थियो ।

उनले भने,‘संविधानको प्रस्तावना, धारा ४२ र धारा ५० मा समावेशी, समानूपातिकको बारेमा उल्लेख गरिएको छ। तर, कार्यकारी धाराहरु २६७, २७१, २७३, २८१, २८२ र २८३ र अन्यमा समेत समावेशी छ । तर, समानुपातिक उल्लेख गरिएको छैन । यो विभेदकारी भएकोले सच्याउनुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *