दुई वर्ष भारतमा लुकेका पूर्वआईजीपी रमेश चन्दको सर्वोच्चमा दुई घण्टा (फोटोफिचर)

डिसी नेपाल
१५ साउन २०७६ १३:४०

काठमाडौं। सुडान घोटालामा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल सजाय पाएपछि फरार रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरीले बिहीबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरे। उनी करिब ४ बजे सर्वोच्चमा पुगेका थिए। निलो रङको जिप जस्तो गाडीमा आएका उनलाई सुरुमा हामीले ठम्याउन सकिरहेका थिएनौं।

पछि सर्वोच्च भित्रबाट बाहिर निस्कदा पत्रकारहरुलाई हातले इशारा गर्दै आफ्नो भनाई राख्न आउने जनाए। उनको सर्वोच्च अदालत भित्र जाने आउने क्रम जारी रह्यो। उनले बेलाबखत त्यही विभिन्न व्यक्ति तथा पोशाकमै रहेका प्रहरीहरुसँग कुराकानी समेत गरिरहे। उनी विन्दास पारामा थिए। बेलाबेलामा अनुहारमा हाँसो पनि देख्न सकिन्थ्यो। यही क्रममा आफ्नो मोबाइलमा समेत घरीघरी व्यस्त रहे उनी।

 

 

ठकुरीले करिब २ घण्टा सर्वोच्चमा बिताए। पछि हातमा केही सेतो कागज हात परेपछि मात्रै उनलाई प्रहरीले सरकारी गाडीमा राखेर डिल्लीबजार कारागारमा लगेका थिए। नेपाल प्रहरीको सुडान शान्ति मिसनका लागि खरिद गरिएको बन्दोवस्ती सामान (एपीसी) खरिदमा घोटाला गरेको आरोपमा पूर्वमहानिरीक्षकहरु चन्द, ओमविक्रम राणा र हेमबहादुर गुरुङलाई सर्वोच्च अदालतले २०७४ वैशाख १७ गते दोषी ठहर गर्दै कैद सजाय र नगद जरिमाना सुनाएको थियो।

 

 

गत १७ वैशाखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले पूर्व आईजीपीहरु ओमविक्रम राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र रु ४० हजार जरिवाना र रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र रु ४० हजार जरिवानाको सजाय सुनाएको थियो।

सर्वोच्चको फैसला आएको २० दिनपछि २०७४ असार ७ गते पूर्वआईजीपी ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए भने चन्द फरार भएका थिए। फरार भएपछि उनी दुई वर्षसम्म भारतमा आफन्तको घरमा लुकेर बसेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *