ट्रम्पद्वारा फेरि कश्मीर मामिलामा मध्यस्थता गर्ने इच्छा व्यक्त, भारतको आपत्ति

डिसी नेपाल
१७ साउन २०७६ १७:०६

वाशिङ्टन (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कश्मीर मामिलामा मध्यस्थता गर्ने इच्छा दोहोर्याएका छन् । उनले वाशिङ्टनमा पत्रकारहरुको प्रश्न दिनेक्रममा बिहीबार कश्मीर मामिलामा मध्यस्थता गर्ने सकिने बताएका हुन् ।

यसअघि ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग वाशिङ्टनमा भएको भेटवार्ताका क्रममा पनि यो विषयमा मध्यस्थता गर्न सकिने बताएका थिए । उनले भनेका छन्, ‘मध्यस्थताको विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले निर्णय लिनुपर्छ । मैले पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग पनि कुरा गरेको छु । मलाई लाग्छ दुबै देश एकसाथ आउनु पर्छ । भारतले चाहे मध्यस्थता गर्न अमेरिका तयार छ ।’

ट्रम्पले कश्मीर मामिलामा भारत र पाकिस्तानलाई मध्यस्थताको आवश्यकता छ भन्ने महसुस भए आफुले केही गर्न सक्ने बताएका छन् । उनले कश्मीरलाई लिएर भारत र पाकिस्तानबीच लामो समयदेखि लडाईँ भइरहेकोसमेत बताएका छन् ।

ट्रम्पले फेरि कश्मीर मुद्दा उठाएपछि भारतले त्यसको नकरात्मक टिप्पणी गरेको छ । पाकिस्तानको प्रक्रिया भने आइसकेको छैन । यसअघि ट्रम्पले यो विषयमा कुरा उठाउँदा भारतले कडा प्रतिक्रिया दिएको थियो । भारतीय विदेश मन्त्रालयले कश्मीर भारत र पाकिस्तानको दुई पक्षीय मामिला भन्दै त्यसमा कुनै तेस्रो पक्ष सामिल हुन नसक्ने बताएको थियो ।

उता ट्रम्पले पत्रकारहरुसँग कश्मीर विषयमा कुरा गरेकै दिन थाइल्याण्डको बैंककमा भारतीय विदेश मन्त्री एस जयशंकर र उनका अमेरिकी समकक्षी माइक पोम्पीयोबीच कुराकानी भएको छ । सो कुराकानीका क्रममा पोम्पीयोले कश्मीर दुई पक्षीय मामिला भनेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पोम्पीयो र राष्ट्रपति ट्रम्पको कुरा परस्पर विरोधी देखिएको भारतीय सञ्चार माध्यमहरुले टिप्पणी गरेका छन् ।

कश्मीर हाल भारत र पाकिस्तान दुबै देशको कब्जामा छ । पाकिस्तान अकुपाई कश्मीर (पीओके)मा पाकिस्तानको शासन छ भने भारतप्रशासित कश्मीर पनि छ । दुबै मुलुक कश्मीरलाई आफ्नो कब्जामा लिन चाहन्छन् ।

यही विषयलाई लिएर पाकिस्तान र भारतबीच दुई पटक युद्ध भइसकेको छ भने थुप्रै पटक युद्धको जस्तै वातावरण बनेको छ । कश्मीरमा भारतले सैन्यकरण गरेको पाकिस्तानको आरोप छ भने पाकिस्तानले कश्मीरिलाई आतंकवादी बनाएको भारतको आरोप छ । एक रिपोर्टअनुसार हाल कश्मीरमा भारतले करिब ७ लाख सेना परिचालन गरेको छ । त्यहाँ १५ देखि २० जना नागरिक बराबर एक सुरक्षाकर्मी रहेको बताइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *