भारतको बढ्यो सक्रियताः किन आइरहेका छन् भारतीय नेताहरु?

डिसी नेपाल
१७ साउन २०७६ २१:५२

काठमाडौं। विगत केही दिन यता भारतीय सत्तारुढ दलका उच्च नेता तथा उच्च सरकारी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ । यही साउन १२ गते भारतीय जनता पार्टीका नेता तथा राज्यसभा सांसद डा. सूब्रमण्यम स्वामी नेपाल आए। उनीअघि भारतीय गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विंग (रअ)का प्रमुख सामान्त गोयल नेपाल आए।

शुक्रबार अर्का उच्च नेता भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन्। एकपछि अर्को उच्च भारतीय अधिकारीको नेपाल भ्रमणले निकट भविश्यमा उच्च भारतीय भ्रमण हुने संकेत देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविदले नेपाल भ्रमण गर्न लागेको चर्चा भइरहेका बेला भएका यी भ्रमणले त्यस चर्चालाई बल पुर्याएको छ ।

अर्को महिनाको पहिलो हप्ता भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको भ्रमण गर्ने जनाइएको छ । भदौं ४ र ५ गते हुने भनिएको नेपाल–भारत मन्त्रीस्तरीय बैठकका लागि जयशंकर नेपाल आउन लागेको उच्च परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भारतीय अधिकारीहरुको लगातारको नेपाल भ्रमण प्रधानमन्त्री वा राष्ट्रपतिको भ्रमणको तयारीका लागि भएको कतिपयले विश्लेषण गरेका छन्।

राज्यसभा सांसद स्वामी एक हिन्दुवादी संगठनको कार्यक्रमको प्रमुख वक्ताका रुपमा नेपाल आए पनि उनले प्रधानमन्त्री केपी ओलीसँग भेटेका थिए।

त्यसपछि आएका रअ प्रमुखले पनि उच्च स्तरीय भेटघाट गरेको बताइन्छ । यद्यपी उनले गरेको उच्च राजनीतिक भेटघाट भने पुष्टि भएको छैन ।

शुक्रबार नेपाल आएका भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल–भारत मैत्री समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई पनि सम्बोधन गरेका छन्। उनले सो क्रममा भारत नेपालको असल मित्र रहेको भन्दै प्रधानमन्त्री मोदीको प्राथामिकतामा नेपाल रहेको बताए ।

उनले मोदीले तीन पटक नेपालको भ्रमण गरिसकेको उल्लेख गर्दै नेपालमा रहेका आशंकाहरुमा कुनै प्रमाण नरहेको बताए । उनले भारतले नेपाललाई कहिल्यै पनि डोमिनेटको सम्बन्धले नहेर्ने बताए।




प्रतिक्रिया

One thought on “भारतको बढ्यो सक्रियताः किन आइरहेका छन् भारतीय नेताहरु?

  1. छिमेकी देसका प्रतिनिधिहरु किन आए भनी भन्नू भन्दा नेपालले छिमेकीहरुसँग के कति सम्बन्ध कसरी कायम गर्ने भनी स्पष्ट नीति हुनु पर्याे नि । रेड लाइट एरियाकाे तरुनीले जस्ताे जाे आए पनि किच्च दाँत देखाएर ठिक्क पार्नु त भएन नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *