जुम्रा मार्ने विवादमा कैदीको मृत्यु

डिसी नेपाल
१८ साउन २०७६ ८:२०

काठमाडौं । नख्खुस्थित कारागारभित्र शुक्रबार दिउँसो दुई जना कैदीबीच जुम्रा मार्ने विषयमा विवाद हुँदा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका बर्दियाका २५ वर्षीय पूर्णबहादुर राजीको मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दाका अर्का कैदी सर्लाहीका ५० वर्षीय पवनकुमार महतोले राजीमाथि सिमेन्टको ब्लकले आक्रमण गरी सख्त घाइते बनाएका थिए । राजीको उपचारका लागि वीर अस्पताल ट्रमा सेन्टरमा ल्याउँदै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिहान खाना खाएर एक साथ बसेका कैदीद्वय महतो र राजीबीच आपसमा जुम्रा मार्ने विषयमा विवाद भएको थियो । एकले जुम्रा मार्ने तर अर्कोले नमार्ने भनेपछि विवाद भएको हो ।

कैदी महतोले सोही रिसमा राजीमाथि कारगाराभित्र रहेको ब्लकले टाउकोमा प्रहार गरेका थिए । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाका अनुसार घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको थियो ।

ती दुई जना कैदीबीचको झगडामा अन्य कैदी रमिते बनेका थिए भने सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीलाई ढिलो खबर भएको थियो । ‘बारम्बार झगडा गर्ने र मिल्ने’ उनीहरूको बानी नै भएकाले अन्य कैदीले बेवास्ता गरेको भनाइ प्रहरीको छ ।

यसैबीच, बालाजुस्थित सडक किनारामा बिछ्याइएको मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ । सप्तरीका सुरेश साह र शिकान्त साहको मृत्यु भएको हो । मृतकद्वय दाजुभाइ हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *