कोरला नाका खोल्ने विषयमा गण्डकी प्रदेश र चिनियाँ प्रतिनिधिमण्डलबीच छलफल

डिसी नेपाल
१९ साउन २०७६ ११:३८

पोखरा । चीनसँगको कोरला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनियाँ प्रतिनिधि मण्डलबीच आइतबार पोखरामा छलफल भएको छ ।प्राध्यपाक वाइ ड्यूङ लिउको नेतृत्वमा रहेको चिनियाँ टोलीले कोरला नाका खोल्न सम्भावाना र प्रदेश सरकारको धारणाबारे भेटमा जिज्ञासा राखेका थिए।

नाका खुलेपछि हुने आर्थिक र धार्मिक गतिविधि वृद्धिको सम्भावनाका बारेमा समेत टोलीले चासो राखेका थिए । जवाफमा प्रदेश प्रतिनिधि मण्डलको नेतृत्व गरेका भौतिक पुर्वाधार मन्त्री राम शरण बस्नेतले नाका खोल्न प्रदेश सरकार तत्पर रहेको र संघ सरकारलाई अनुरोध पठाई सकिएको जानकारी गराएका थिए।

साथै उनले नाका खोल्न सकिए व्यापारिक, धार्मिक र बहुपक्षीय रुपमा दुवै देशले फाइदा लिन सक्नेतर्फ चिनियाँ पक्षको ध्यानाकर्षण गराएका थिए । यो नाकामा बाटोको ट्रयाक बनिसकेको र भौगोलिक रुपमा काठमाडौँ र लुम्बिनीसँग नजिक रहेकोले यसले व्यापारिक र धार्मिक रुपमा फाइदा पुग्ने उनको भनाई थियो ।

चिनियाँ प्रतिनिधि मण्डल प्रमुख प्राध्यापक लिउले आफुँहरु समेत कोराला नाका खोल्ने प्रक्रिया अगाडि बढाउन इच्छुक रहेको र नेपाली पक्षले सहमत भएमा चाँडै विस्तृत सम्भाव्यता अध्ययन गर्ने बताए । छलफलमा प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्मा पौडेलले यो नाकाबाट सबैभन्दा छोटो दूरीमा भारतीय नाकासँग समेत जोडिने भएकोले यसले त्रिदेशीय व्यापारिक गतिविधिलाई बढाउन मदत गर्ने बताए ।

मुस्ताङ जिल्लामा पर्ने कोराला नाका खुलाउन सकिए यो चीनसँगको व्यापार आदानप्रदानका लागि सहज हुने भन्दै गण्डकी प्रदेशले यो नाका खोल्न केन्द्र सरकारलाई आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *