बिकेन सुन

काठमाडौँ। नेपाली नारीहरुको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ। आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायीहरु मारमा परेका छन्।

पछिल्लो केही दिनयता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ६७ हजार ८ सय र तेजावी सुन ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो। सोमबार चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ।

अमेरिका र चीनबीचको पछिल्लो समय चलिरहेको व्यापारिक तनावका कारण सुनचाँदीको मूल्यमा वृद्धि भएको सुनचाँदी व्यवसायीहरु बताउँछन्। पछिल्लो समय अमेरिका र चीन तथा इरान र अमेरिकालगायत भारतमा पनि तनाव छाइरहेकाले सुनचाँदीको भाउ महङ्गिएको सुन व्यवसायीहरुको भनाइ छ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अमेरिका र चीनबीचको व्यापार युद्ध लगायत विविध कारणले नेपालीमा सुनचाँदीको मूल्य बढेको बताए। उनले आइतबार मात्रै इरानले तेलको ट्यांकर रोकेको तथा भारतको जम्बु काश्मिरमा आएको राजनैतिक तनावका कारण नेपाली बजारमा सुनचाँदीको भाउ अचाक्ली बढेको उल्लेख गरे।

नेपाल समाचारपत्रसँग कुरा गर्ने क्रममा उनले भने, ‘आइतबारमात्रै इरानले तेल बोकेको ट्यांकर नियन्त्रणमा लिएको छ, यसबाट पनि सुन महंगिएको छ।’ उनले भारतमा जम्बू–कश्मिरमा फैलिएको आतंकका कारण नेपाली सुन बजार प्रभावित भएको उल्लेख गरे।

व्यवसायी शाक्यले सुनको कारोबार कहिलेसम्म बढ्ने भन्ने अनुमान गर्न नसकिने बताउँदै भने, ‘सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँभन्दा माथि नजाला भन्न सकिँदैन?’

एकातिर अमेरिकाको केन्द्रिय बैंकले ब्याजदर घटाउँदाको असर पनि सुनमा परेको छ । अमेरिकी केन्द्रिय बैंकले ०.३ प्रतिहत ब्याजदर घटाएको छ भने अर्काेतिर सुनको भाउ आकाशिँदा व्यवसायी तथा उपभोक्ता मारमा परेका छन्। काठमाडौं उपत्यकाका अधिकांश सुनचाँदी पसलहरू अहिले ठप्प जस्तै देखिन्छन्।

विशेषगरी नेपालीमा साउनमा बढी सुनचाँदी बिक्री हुन्छ । भदौमा तिज मनाउने समयमा गरगहना बढी खरिद–बिक्री हुने व्यवसायीहरुको अनुभव छ। सुनचाँदी व्यवसायी शाक्यका अनुसार बजारमा सुनको माग एकदमै न्यून छ।

अब केही समयसम्म सुनको भाउ सामान्य अवस्थामा नआउने उहाँले अनुमान गरे। सुन व्यवसायी र उपभोक्ताहरुको हितका लागि सरकारले यसलाई केही हदसम्म सामान्य गर्न सक्ने उनको भनाई छ।

अहिले सुन पसलमा पुराना सुनहरु थुप्रिएको बताउँदै उनले वाणिज्य बैंकहरुलाई सुन किन्न आग्रह गरिएको समेत उहाँले बताउनुभयो । यद्यपी वाणिज्य बैंकहरुले यसबारे ध्यान नदिएको उनको भनाई छ। उनले भने, ‘हामीकहाँ रहेको पुराना सुन वाणिज्य बैंकहरुले किनिदिए केही सहज हुन्थ्यो, तर उहाँहरुले नकिन्ने बताउँदै आउनुभएको छ ।’ उनले सरकारले समन्वय गरि पुराना सुनहरु वाणिज्य बैंकहरुले किन्ने व्यवस्था मिलाईदिए सहज हुने विश्वास व्यक्त गरे। नेपाल समाचारपत्र दैनिक

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position