संसदको गतिरोध अन्त्य गर्ने सहमतिलाई राजनीतिक आरोपको विषय नबनाउन आग्रह

डिसी नेपाल
२१ साउन २०७६ १५:५६

काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले संसद अवरोध खोल्ने सन्र्दभमा भएको सहमतिलाई राजनीति आरोप प्रत्यारोपको विषय नबनाउन सबै दलको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले सत्ता पक्ष र प्रतिपक्षी दल दुवैले संसदीय मर्यादा कायम गर्दे गरेको निर्णयलाई दलीय आधारमा व्याख्या र विश्लेषण नगर्न सचेत गराएका हुन्।

संसदीय प्रणालीका बारेमा फरक मत राख्ने र वर्गसत्रुका रुपमा रहेका दुई पक्षको खतरनाक द्वन्द्वबाट निकास निकालेर प्रतिनिधिसभालाई स्वीकार गरेको स्मरण गराउदै उनले असहमत हुनका लागि सहमति हुने थलोको रुपमा प्रतिनिधिसभा रहेकाले त्यसको मर्यादा कायम गर्नका लागि सहभागी सबैले ध्यान पुर्याउनुपर्नेमा जोड दिए।

‘सभा अवरोधका सन्र्दभमा हिजो भएको सहमतिको बारेमा अहिले टिका टिप्पणी हुदैछन्। प्रतिपक्ष हार्यो, प्रतिपक्षीले सम्झौता खोज्यो, होइन, सत्तापक्ष आत्तियो,’ उनले भने, ‘सत्तापक्षले प्रतिपक्षको मान्यो। यी मेरा कानमा परेका शब्दहरु हुन्। हिजो दुवै पक्षले प्रतिनिधिसभाको मर्यादा कायम गरेर आ– आफ्नो ठाउबाट योगदान गरेर विशेष गरी सभामुखकै पहलबाट कदम लिएको हो। यसका लागि राजनीतिक भनाभनको विषय नबनाउनुहोसर। प्रतिपक्षीले उच्चकोटीको सदासयता देखाएको छ। सरकारले पनि विनम्रता देखाएको छ।’

संसदीय प्रणालीलाई गन्तव्य र सफलतामा पुर्याउने काम चुनौतीपूर्ण रहेको टिप्पणी गरे। उनले विद्यमान हिंसाको परम्परा, वेरोजगारी, आर्थिक क्रियाकलाप, भ्रष्टाचार लगायतले प्रणालीलाई नै असफल बनाउन हिडिरहेकाले प्रणालीलाई जिवित राख्न आरोप प्रत्यारोपमा नलागि परस्पर सम्मान गर्दै प्रणाली जोगाउने तर्फ दृढ हुनुपर्नेमा जोड दिए।

उनले मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानबाट प्रभावितका लागि संघीय राज्यको सिद्धान्त पालना नहुन्जेल उदारतापूर्वक केन्द्रसरकारबाट अनुदान पठाउने व्यवस्था मिलाउन गृहमन्त्रालय र सरकारलाई आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *