जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

डिसी नेपाल
२२ साउन २०७६ १२:००

काठमाडौं। सांससहरुले विभिन्न जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद मोहन बानियाँले जनप्रतिनिधिले सदनमा उठाएका आवाजको सम्बन्धित निकायबाट सुनुवाई नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए। उनले विशेष र शून्य समयमा उठेका आवाजको सम्बन्धित निकायबाट जिम्मेवारी पूर्वक सुनुवाई हुनुपर्ने भन्दै सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन सभामुखसँग आग्रह गरे।

सांसद रंगमती शाहीले जनताहरु विषादीयुक्त तरकारी तथा फलफूल खान बाध्य भइरहेको भन्दै जनताको स्वास्थ्यप्रति संवेदनशील हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन्।

प्रधानमन्त्रीज्यू तपाइँ विरामी भए हामीले उठाएको करबाट विदेशमा उपचार भइहाल्छ। हामी जनता विरामी भए सिटामोल खान पाउदैनौं। हामी जनता बाँचे मात्रै तपाइँको रेल र पानी जहाज चढौंला। हामी नै बाचेनौं भने तपाइँको रेल र पानी जहाज कस्ले चढ्ला?

उनले भनिन्, ‘विषादीयुक्त तरकारी खाएपछि विरामी भइन्छ भन्ने थाहा छ। प्रधानमन्त्रीज्यू तपाइँ विरामी भए हामीले उठाएको करबाट विदेशमा उपचार भइहाल्छ। हामी जनता विरामी भए सिटामोल खान पाउदैनौं। हामी जनता बाँचे मात्रै तपाइँको रेल र पानी जहाज चढौंला। हामी नै बाचेनौं भने तपाइँको रेल र पानी जहाज कस्ले चढ्ला? यो जनताको आवाज हो।’

सांसद बिमला नेपालीले लोकसेवा आयोगले ९ हजार भन्दा बढी पदका लागि आह्वान गरेको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिम नभएको भन्दै संसदीय समितिले आयोगलाई नीतिगत निर्देशन गर्दा पनि सुनुवाई नभएको भन्दै त्यस सरकारको ध्यानाकर्षण गराइन्।

यसले जारी असन्तुष्टीलाई मलजल पुगी अर्को द्वन्द्व निम्तने खतरा रहेको भन्दै उनले सरकार समानुपातिक समावेशीको विरोधी हो भनी प्रश्न गरिन्।

बृजेश कुमार गुप्ताले बाली लगाउने समयमा किसानले मलखाद नपाएको भन्दै भविश्यमा खेतीको समयमा मल अभाव हुन नदिन पूर्व तयारी गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।

सांसद भैरवबहादुर सिंहले बझाङ जिल्लाको थलरा गाउपालिकामा एक महिलाको बलात्कार पछि हत्या गर्ने प्रयास भएको भन्दै अपराधी पहिचान गरी कडा कारवाही गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराए।

महेश बस्नेतले सूर्य विनायकदेखि धुलिखेलसम्मको सडकखण्ड ६ लेनको बनाउने र कोटेश्वरमा सुरुङ मार्ग निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए।

कोटेश्वर –बनेपा –सिन्धुली नेपालकै मुख्य दोश्रो नाका भएको र दैनिक २० हजार सवारी साधन संचालन हुदै आएको भन्दै उनले कोटेश्वरमा सुरुङ मार्ग बनाउने भन्दै डिपिआरको प्रक्रिया अघि बढाएको भएपनि ढिलासुस्ती भइरहेको भन्दै त्यस कार्यमा तदारुकता देखाउन मन्त्रीको ध्यााकर्षण गराए।

सांसद यज्ञराज सुनुवारले ओखलढुंगाका अधिकांश स्थान सुख्खाग्रस्त भई स्थानीय आक्रान्त बनेको भन्दै स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए। त्यसैगरी सांसदहरु राजेन्द्र कुमार राई , रानी मण्डललगायतले बाढीपहिरो र डुबान प्रभावितका लागि राहत र पुनस्थापनाको उचित व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *