प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुला

डिसी नेपाल
२२ साउन २०७६ २३:११

काठमाडौं । प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ।

प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवा सम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो।

पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश सरकार अब लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्नसक्ने छन्।

सरकार गठन भएदेखि नै मुख्यमन्त्री लालबाबु राउतले कर्मचारी अभावको कारण सरकारले प्रभावकारी रुपले काम गर्न नसकेको गुनासो गर्दै आएकोमा विधेयक पारित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अब प्रदेश नं २ सरकारले आफ्नै कर्मचारी भर्ना गरेर सरकार सञ्चालन सहज र प्रभावकारी बनाउने छ।’

मुख्यमन्त्री राउतले भने, ‘लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ। यसअघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरे पनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन। अब विधेयक प्रमाणीकरणलगत्तै लोकसेवा आयोग गठन प्रक्रिया अगाडि बढाइन्छ।’

त्यसैगरी प्रदेश नं २ को आज बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको बालबालिकाको हकअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था व्यवस्था गर्न बनेको विधेयक २०७५ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइएको छ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले पेश गरेका प्रदेश नं २ को वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेशसभामा टेबलसमेत गरिएको छ।प्रदेशसभाको अर्को बैठक बिहीबार दिनको ३ बजे बस्ने भएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *