समस्यामा परेकी शोभा युएईबाट स्वदेश फर्किइन्

डिसी नेपाल
२४ साउन २०७६ १६:२४

युएई । वैदेशिक रोजगारीको लागि युएई पुगेकी झापा सुरुङाकी शोभा न्यौपाने लामो संघर्सपछि  स्वदेश फर्किएकी छिन् ।
युएईको उत्तरी राज्य रासलखेमा रहेको रकिज अमार क्लिनिङ कम्पनीमा कार्यरत झापा सुरुङ्गाकी ३४ वर्षीया  न्यौपानेलाई झापाली समाज युएईको समन्वयमा नेपाली दूतावास अबुधाबीले उद्धार गरी नेपाल फर्काएको हो ।

कम्पनीले तीन महिनादेखि तलब नदिएपछि समस्यामा परेकी न्यौपाने साउन २३ गते बिहीवार नेपाल फर्किएको जानकारी उनको उद्धारकार्यमा समन्वय गरेका झापाली समाज युएई रासअलखेमा क्षेत्रका अध्यक्ष खगेन्द्र बुढाथोकीले जानकारी दिएका हुन् ।

न्यौपाने कार्यरत कम्पनीले तलब सुविधा रोकेको र एक महिनादेखि काममा नलगाई अलपत्र बनाएको पीडित न्यौपानेको अवस्थाको बारेमा पीडितका श्रीमानले  झापाली समाज युएईका महासचिव मणि सुवेदीलाई जानकारी गराएका थिए ।

सुवेदीले सम्बन्धित क्षेत्रका अध्यक्ष खगेन्द्र बुढाथोकीलाई जानकारी गराएपछि पीडित न्यौपाने दुतावासको सेल्टरमा शरण लिन पुगेकी थिइन् । रासअलखेमादेखि अबुधाबीस्थित नेपाली दूतावास पुर्याउन एनआरएनए आरसीसी अबुधाबी अध्यक्ष दुर्योधन कार्कीले सहजीकरण गरेका थिए । आफूलाई घर फर्काइदिन कम्पनीसँग आग्रह गर्दा पासपोर्ट अध्यागमनमा बुझाएको भन्दै न्यौपानेलाई अन्योलमा राखेको थियो ।

दूतावासका श्रम कन्सुलर भेषबहादुर कार्की र श्रमसहचरी मोतीराम भुसालले सम्बन्धित कम्पनी र म्यानपावर कम्पनीलाई क्षतिपूर्ति उपलब्ध गराउन निर्देशन दिए पश्चात् उनको उद्धार प्रक्रिया अगाडि बढेको हो ।

पीडित न्यौपानेलाई नेपाली दूतावासले एकतर्फी ट्राभल डकुमेन्ट बनाएर नेपाल फिर्ता पठाएको दूतावासका श्रम सहचारी मोतीराम भुसालले जानकारी दिएका छन् । उनको उद्दार प्रक्रियामा आवश्यक पर्ने सबै रकम १५ सय दिराम (करिब ४५ हजार रुपैयाँ) नेपाली दूतावासको निर्देशनमा सम्बन्धित म्यानपावर कम्पनीका प्रतिनिधिले तिरेको दूतावासका श्रम सहचारी भुसालले जनाएका छन् ।

पीडित न्यौपाने एक वर्ष पहिले काठमाडौँ रहेको पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रालिमार्फत क्लिनरको काममा यूएई आएकी थिइन् । उक्त कम्पनीमा करिब ९ महिना काम गरेपछि न्यौपानेलाई कामविहीन भएकी थिइन् । कम्पनीले काम र तलब नदिएपछि  उनी रासअलखेमाकै अर्को कम्पनीमा कार्यरत झापाली दिदीबहिनीहरूको क्याम्पमा बसेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *