एम्बुलेन्स खरीदका लागि महायज्ञबाट ३५ लाख सङ्कलन

डिसी नेपाल
२६ साउन २०७६ ९:२९

दमौली । एम्बुलेन्स खरीद गरी सर्वसाधारणलाई सेवा दिने उद्देश्यसहित तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा आयोजना गरिएको महायज्ञमा रु ३५ लाख सङ्कलन भएको छ।

ग्रामीण भेगका जनतालाई स्वास्थ्य संस्थासम्म जान सहज पहुँचको व्यवस्था गर्ने उद्देश्यसहित एम्बुलेन्स खरीदका लागि साउन २० गतेदेखि सञ्चालित हप्ताहव्यापी महायज्ञमा रु ३५ लाखभन्दा बढी दान सङ्कलन भएको हो। केशवटार माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा दानवीरहरुको उत्साहपूर्ण सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर आलेले जानकारी दिए।

“गाउँमा एम्बुलेन्स सेवा नहुँदा बिरामीहरु जिपको चर्को भाडा तिरेर स्वास्थ्य संस्थासम्म जानुपर्ने बाध्यता छ”, उनले भने, “सहज मूल्यमा सर्वसाधारणलाई सेवा दिने उद्देश्य राखेर एम्बुलेन्स खरीद गर्ने सोच छ ।” उनका अनुसार यहाँका सर्वसाधारणले एम्बुलेन्स सेवा प्रयोग गर्न नपाउँदा दुःख भोग्नुपरेपछि विद्यालयको सक्रियतामा महायज्ञ आयोजना गरिएको हो।

नगरपालिका भएर पनि विकासमा पछाडि परेको वडाका जनतालाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन एम्बुलेन्स सेवा सञ्चालनका लागि महायज्ञ गरिनु सकारात्मक रहेको व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले बताए।

महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले कथावाचन गरिरहेका छन्। एम्बुलेन्स खरीदका लागि महायज्ञ आयोजना गरिएको हुँदा केशवटारवासी खुशी भएका छन्। “एम्बुलेन्स सेवा नहुँदा बिरामीलाई सदरमुकाम दमौली या अन्यत्रको अस्पतालमा लैजान कठिनाइ हुँदै आएको छ”, स्थानीयवासी बसुन्धरा भट्टराईले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *