भगवानको पूजा, नृत्य अभ्यासदेखि जीम सेन्टरसम्म

डिसी नेपाल
२६ साउन २०७६ १०:०२

काठमाडौं । कलाकारका हरेक गतिविधिमा दर्शकको चासो रहन्छ। उनीहरु के खान्छन्? कस्तो लगाउँछन्? फुर्सदको समयमा के गर्छन्? के–के कुराहरु मन पराउँछन्? दैनिकी कसरी विताउँछन्? इत्यादीमा फ्यानहरुलाई सधैं चासो रहन्छ।

नेपाली फिल्म क्षेत्रमा सर्वाधिक चर्चामा रहेको नाम हो, अनमोल केसी। अनमोलको चकलेटी लुक्स, उनले लिने पारिश्रमिक, बजारमा देखिने क्रेजको सधै चर्चा हुँदै आएको छ। यहाँ हामी उनीसँग फिल्म क्षेत्रभन्दा बाहिर रहेर उनको दैनिकीलाई नियाल्ने कोशिस गरेका छौं।

बिहान कति बजे उठनुहुन्छ?
फिल्मको सुटिङ, डबिङ लगायत अन्य कार्यक्रम छ भने फरक कुरा भयो। नत्र बिहान ६ बजे उठिसक्छु।

उठेपछि पहिलो काम के गर्नुहुन्छ?
शुरुमा वाथरुम जान्छु। फ्रेस हुन्छु।

त्यसपछि…?
मेरो कोठामा कृष्ण भगवानका तस्वीरहरु टाँसेको छु। फ्रेस भइसकेपछि दिनहुँ भगवानको नाम जप्दै पूजा गर्छु। साताको एक दिन चाँहि मन्दिर पुगेरै पूजा गर्ने गरेको छु।

खाजा कतिबेला खानुहुन्छ? के खानुहुन्छ?
म प्रायः १० बजेको आसपासमा खाजा खान्छु। खाजामा टोससँगै फलफूल (केरा, स्याउ) जे उपलब्ध हुन्छ त्यही खान्छु।

आफै‌ं तयार गर्नुहुन्छ की कसैले टक्राइदिनुपर्छ?
मेरो रुचिमध्ये, कुकिङ पनि पर्छ। त्यसैले म प्रायः ब्रेकफाष्टका लागि आफै किचनसम्म पुग्छु। आफ्नो लागि आफै ब्रेकफाष्ट तयार गर्छु।

खाना चाँही कतिबेला खानुहुन्छ?
खाजा खाएपछि मैले झण्डै २ घण्टा घरमै नृत्य अभ्यास गर्छु। नृत्य अभ्यास सकिएपछि १२ बजेको आसपास मात्र खानाको समय हुन्छ।

खानामा के खानुहुन्छ? के मन पर्छ तपाईलाई?
मलाइ दात, भात, तरकारी नै मनपर्छ । प्राय खानामा त्यही नै खान्छु।

खाना कस्ले बनाउनुहुन्छ नी?
घरमा एकजना सहयोगी हुनुहुन्छ। खाना उहाँले बनाउनुहुन्छ।

त्यसपछिको समय…?
खाना खाएपछि १ घण्टा आराम गर्छु। अनि जीम जान्छु।

कहाँ?
त्यो चाँही नखुलाउँ (फ्यानका कारण जीम सेन्टरको नाम गोप्य राख्ने आग्रह गरे)

जीम सेन्टरमा कति समय बिताउँनुहुन्छ?
त्यही १ घण्टाजति।

अनि…?
त्यसपछि घर फर्किन्छु। फर्किँदा बाटोमा फलफूल पसलमा ‘फ्रेस जुस’ पिउँछु। घर आएपछि केही समयपछि फेरि ४ बजेदेखि किक बक्सिङदेखि जिम्न्यास्टिकको अभ्यास गर्छु। त्यो झण्डै ७ बजेसम्म चल्छ।

त्यसो भए हरेक दिन साँझ थकित हुनुहुन्छ होला है?
बानी परिसक्यो। म साँझमा दिनहुँ नुहाउने गर्छु। ननुहाउँदासम्म फ्रेस महशुस नै हुँदैन। त्यसमाथि धुलोधुँवा र पसिनाले गर्दा दिनहुँ नुहाउनु आवश्यक छ । साँझ खाना खानुअघि हरेक दिन नुहाउँछु।

साँझको खाना चाँहि कतिबेला खानुहुन्छ?
साँझ त्यति ८ बजेतिर।

त्यसपछिको समय टेलिभिजन हेर्नुहुन्छ वा फेसबुकमा व्यस्त बन्नुहुन्छ?
म साँझमा प्राय १ घण्टा फेसबुक चलाउँछु। त्यो बाहेक सेलिब्रेटीहरुको इन्टरभ्यूज हेरिरहेको हुन्छु। इन्टरभ्यूमा अग्रज कलाकारहरुले अभिनयका बारेमा शेयर गरेका अनुभवहरुका भिडियोहरु बढी मात्रामा हेर्छु।

फिल्म हेर्नुहुन्न ?
फिल्म साँझमा भन्दा पनि दिउँसोको खाली समयमा हेरिरहेको हुन्छु ।

अनि सुत्ने समय कति बजे नी?
साँझ त्यही १० देखि ११ बजेसम्म ओछ्यानमा पुग्छु। त्यसपछि केही समयमै निदाउँछु। साँझमा अवेरसम्म बस्ने मेरो त्यति बानी छैन्।

बाहिर हिँडदा ‘टिकटप’ परेर हिँडनु बाध्यता नै भयो। घरमा चाँहि कस्तो परिरनमा बस्नुहुन्छ?
घरमा त म सामान्य परिरनमै हुन्छु। सामान्य टी–सर्ट, ट्रयाकहरु लगाएर बसिरहेको हुन्छु । मलाइ सामान्य परिरनमै बस्न आनन्द लाग्छ।

अन्त्यमा तपाइँ जहिले फ्रेस देखिनुहुन्छ। त्यसको राज के हो?
सकारात्मक सोच। हामीले जहिल्यै कुनै पनि कुराको अनावश्यक चिन्ता नलिई सकारात्मक सोच लिनुपर्छ। मलाइ त मानिस जति चिन्ता लियो, त्यति छिटो बुढो हुन्छ जस्तो लाग्छ। त्यो बाहेक योग र ब्यायामको पनि आवश्यक हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *