लण्डनमा छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न  

डिसी नेपाल
२६ साउन २०७६ १४:०३

लण्डन । अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्य समितिको आयोजनामा छैटौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन लण्डनमा भव्यताका साथ सम्पन्न  भएको छ । कार्यक्रमको संयोजन तथा व्यवस्थापन अनेसास बेलायत च्याप्टरले गरेको थियो । सम्मेलनमा संसारका विभिन्न देशहरुबाट झण्डै ६ दर्जन नेपाली भाषी साहित्यकारहरू अनेसासका बिभिन्न च्याप्टरहरूको प्रतिनिधित्व गर्दै लन्डन पुगेका थिए ।

लण्डनको दक्षिण पूर्वी शहर वेलिंगमा भएको सम्मेलनको पुर्व सन्ध्यामा लन्डन आइपुगेका साहित्यकारहरूको स्वागतार्थ बेलायत च्याप्टरले रात्रिभोजको आयोजना गरेको थियो । स्थानीय कम्युनिटी सेन्टरमा अगष्ट ३ मा कार्यक्रमको उद्‌घाटन प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुबसु छेत्री, विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङलगायत अन्य अतिथिबाट दियोमा बत्ती बालेर सुरु गरिएको थियो । अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा।दुर्गा बहादुर सुबेदी छेत्रीले सभ्यताको माटो बेलायतमा यतिधेरै साहित्यकारहरूको जमघट हुनु नेपाली भाषा र साहित्यको क्षेत्रमा ठुलो फड्को भएको जानकारी गराए । विशिष्ट अतिथि डा।जगमान गुरुङले भाषा बाँचे संस्कृति र सभ्यता बाँच्ने भएकोले साहित्यको सिमाना र क्षेत्र नहुने बताउँदै नेपाली सभ्यता फस्टाएकोमा प्रवासमा नेपाली साहित्यको काम गर्ने अनेसास प्रशंसाको पात्र रहेको बताएका थिए । उद्‌घाटन समारोहमा अनेसास बेलायतका अध्यक्ष तथा कार्यक्रमका संयोजक सुमल कुमार गुरुङले स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा जानकारी राखेका थिए । बोर्ड अफ ट्रस्टी उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास केन्द्रका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माइला, गोरखापत्र संस्थानका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन, अनेसास उपाध्यक्ष सुनिल सँगम, नेपाली मानक भाषा अन्तर्राष्ट्रिय संजालका अध्यक्ष प्राडा खगेन्द्र लुइँटेल लगायत, शुभकामना मन्तव्य राखेका थिए ।

सो सम्मेलनमा केन्द्रीय कार्य समितिका पदाधिकारीहरू, बिओटी प्रतिनिधि, संसारभरका च्याप्टर प्रतिनिधिहरूलगायत अनेसास केन्द्रका पूर्व अध्यक्ष प्रा मोहन सिटौला, बिओटीका सल्लाहकार प्राडा दुर्गा दाहाल, साहित्यकारहरु बिश्वबिमोन श्रेष्ठ, गोवर्धन पुजा, क्रिशु क्षेत्री, कृष्ण बजगाईँ, डा रूपक श्रेष्ठ, डा.कविता लामा, डा रेनुका थापा, डा.पुष्पा शर्मा, सुमन घिमिरे, रुद्र पौडेल, सन्ध्या पहाडी लगायत नेपाली समकालीन  साहित्यमा कलम चलाउने सयौ व्यक्तित्वहरुको अभुतपुर्व जमघट रहेको थियो । सन्तोश कार्की, कमला रिसाल, बिसी राइ  लगाएतले रास्ट्रीय गीत पनि प्रस्तुत गरेका थिए ।

सम्मेलनमा केन्द्रीय कार्यसमितिबाट घोषणा भएको अनेसास वासुदेव९मालती सम्मान तथा पुरस्कार बरिष्ट साहित्यकार लीलबहादुर क्षेत्रीका प्रतिनिधिलाई पुरस्कार स्थापनकर्ता डा प्रा दुर्गा दाहाल मार्फत हस्तान्तरण गरिएको थियो । त्यसै गरि अनेसास केन्द्रले साहित्यमा पवन चाम्लिङ्ग, कलामा मदनदाश श्रेष्ठ, संस्कृतिमा डा जगमान गुरुङलाइ अनेसास विशिष्ट सम्मान प्रदान गरेको थियो भने साहित्यकार डा रुपक श्रेष्ठ, लगायत चौथो र पाँचौ सम्मेलनका संयोजकहरु प्रकाश पौडेल ’माइला’ र गणेश घिमिरेलाई सम्मान गरिएको थियो । यसै अवसरमा सुप्रमा पुरस्कार गजलकार नृपेश उपरेतिलाई प्रदान गरियो ।

सम्मेलनमा पहिलो दिन केहि प्रतिनिधि कविता वाचन तथा कृतिहरुको विमोचन गरिएको थियो । नेपाली कथाहरुको अनुवाद संग्रह “सिल्भर क्यास्केड“, अन्तर्दृष्टि, प्रतिविम्ब (बेलायत), पर्थ स्मारिका, लाभेंदरका परागहरु (पोर्चुगल) लगायत यात्रा स्पर्शका अनुभूतिहरु सुमल कुमार गुरुङ, रोटीको दन्त्य कथा (लालगोपाल सुबेदी), जीवन बासुरी (मोहन सिटौला), खाप्परेका कथाहरु ९रामप्रसाद घिमिरे०, मनका तरङ्गहरु संयुक्त गीति संग्रह, साँझकी   शशि थापा शुब्बा लगायत दर्जन बढी कृतिहरु प्रमुख अतिथि तथा अन्य अतिथिबाट विमोचित भए । बेलुका साहित्यकारहरूको सम्मानमा राजदुतावासले रात्रिभोज तथा साहित्यिक गोष्ठीको आयोजना गरेको थियो ।

सम्मेलन सफलताको लागी बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्री र सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ्गले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

सम्मेलनको दोश्रो दिनमा डा।कविता लामाले “वर्तमान नेपाली साहित्यको अवस्था“ बिषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् जसमा डा। शान्तिमाया गिरीले टिप्पणी गरेकी थिइन्। यसैगरि दोश्रो सत्रमा बेलायतमा बसेर नेपाली भाषा तथा साहित्यको गहन अध्ययन गरेका प्रा माइकल हार्टको “नेपाली लिटरेचर पोस्ट अर्थवेक इन नेपाल“ बिषयक कार्यपत्र माथि सुमन घिमिरे बर्षाले टिप्पणी गरेकी थिइन् ।

कार्यक्रमको अन्तिम सत्रमा बेलायत च्याप्टरका सल्लाहकार समेत रहेका  डा।रुपक श्रेष्ठले “डायस्पोरा र नेपाली साहित्य“ बिषयमा प्यानल डिस्कसन चलाएका थिए । उपाध्यक्ष भिमसेन सापकोटाले सकरात्मक सोचको बारेमा प्रवचन दिएका थिए ।

कार्यक्रम संयोजक सुमलकुमार गुरुंगले सबैको साथ र सहयोगले सम्मेलन सम्पन्न भएको र यस साहित्यिक कुम्भ मेलामा संलग्न सबै साहित्यिक मनहरु प्रति आभारी रहककको बताउँदै धन्यवाद ज्ञापन गरेका थिए भने अनेसासका वरिस्ठ उपाध्यक्ष प्रकाश पौडेल ’माइला’ ले आफु सन्योजक रहककको घोषणापत्र समितिको तर्फबाट पाँच बुंदे लन्डन घोषणापत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा अनेसासका अध्यक्ष राधेश्याम लेकालीले अनेसास नेपाली डायास्पोरिक साहित्यको उत्थानमा सधै क्रियाशील रहने बताएका थिए ।

सम्मेलनको तेश्रो तथा अन्तिम दिन महान साहित्यकार विलियम शेक्सपियरको जन्मघरको साहित्यिक यात्रामा पाहुना सहित ठुलो मात्रामा साहित्यकारहरूको सहभागिता थियो ।

कार्यक्रमलाई अनेसासका केन्द्रीय महासचिव गणेश घिमिरे, केन्द्रीय सदस्य लक्ष्मी राइ, सानु घिमिरे र सशी थापा शुब्बाले सन्चालन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *