अमेरिकाको कोलोराडोमा सामूहिक दरखाने कार्यक्रम 

डिसी नेपाल
२६ साउन २०७६ १५:५४

नातिबाबु भट्ट

कोलोराडो । हिन्दु महिलाहरूको महान चाड तिज नजिकिँदै गर्दा कोलोराडो निवासी महिलाहरू एकै ठाउँमा भेला भई नाचगान गर्दै सामूहिक दर खाएका छन् ।

प्रवासमा रहेका महिला दिदी बहिनीहरूलाई माइतीको झल्को मेटाउन तथा प्रवासमा जन्मे हुर्केका बाल बालिका र स्थानीयलाई नेपाली भाषा संस्कृतिको पहिचान गराउन कोलोराडो  सिस्टरस ग्रुपले दरखाने कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा महिला दिदी बहिनीहरूले घर घरबाट मीठा परिकारहरू बनाएर ल्याई एकै ठाउँमा जम्मा भई परम्परागत शैलीमा गीत गाएर नाच्दै सामूहिक दर खाएका हुन् ।

कार्यक्रममा बोल्डर, लङमन्ट, बु्रमफिल, डेनवर्ग, अरोरा, वेस्टमिनिष्टर लगायतका शहरहरूबाट महिला दिदी बहिनीहरू नेपाली पहिरन रातो साडी ,चोलो , चुरा, धागो र विभिन्न परम्परागत गहनामा सजिएर उपस्थित भएका थिए । कोलोराडो स्थित नर्थग्यालेन शहरमा सम्पन्न कार्यक्रम सिष्टर्स ग्रुपकाे सकृय सदस्य सीता सापकोटाले स्वागत भाषण गर्दै सुरुवात गरेकी थिइन् ।

साँझ ४ बजे देखी राती ९ बजे सम्म संचालन भएको कार्यक्रममा बाल बालिका देखि वृद्ध वृद्धा सबै उमेरका दाजुभाई दिदी बहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो। उनीहरूले परम्परागत भाका र शैलीमा गीत गाउFदै मादलको तालमा छम छम नाचिरहँदा नेपाली भूमिमा बसेर तिजको रमाइलो हेरिरहेको महसुस हुन्थ्यो ।

 

स्थानीय सीता सापकोटा र शान्ति भुसाल लगायतका दिदी बहिनीहरूको सकृय सहभागिता र व्यवसायी, बुद्धिजीवी, समाजसेवी दाताहरूको सहयोगले कार्यक्रम सफलताको साथ सम्पन्न भएको हो भन्दै आयोजक संस्थाका संयोजक धन पौडेलले कार्यक्रममा उपस्थित भई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *