कश्मीरका यी बालक जसले राष्ट्रिय पुरस्कार पाएको अहिलेसम्म थाहै पाएका छैनन्

डिसी नेपाल
२६ साउन २०७६ १६:३७

मुम्बइ। गएको शुक्रबार फिल्म ‘हमिद’ लाई उर्दू भाषाको सर्वोत्कृष्ट राष्ट्रिय फिल्म घोषणा गरियो । फिल्मका मुख्य कलाकार आठ वर्षीय तल्हा अरशद रेशी सर्वोत्कृष्ट बाल कलाकार घोषित भए। तर जम्मू कश्मीरका यी बाल कलाकार न त पुरस्कार वितरण समारोहमा सहभागी हुन पाए । न त उनलाई आफूले सर्वोत्कृष्ट बालकलाकारको पुरस्कार पाएको थाहा छ ।

केन्द्र सरकारले जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० हटाएपछि उक्त राज्यमा फोन, इन्टरनेट र आम सञ्चारका सेवाहरु ठप्प छन् । सरकारको उक्त निर्णयको कश्मीरमा विरोध भइरहेको छ । सडकहरु पनि बन्द जस्तै छन् । फिल्मका निर्देशक एजाज खानले सबै सञ्चारमाध्यमहरु बन्द भएकाले तल्हालाई खबर गर्ने प्रयास विफल भएको बताएका छन् ।

खानलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्, “मैले तल्हासँग सम्पर्क गर्न निकै कोशिश गरें, उनका बुवा र आफन्त कसैसँग पनि सम्पर्क हुन पाएन । यो खुशी उनीसँग बाँड्न नपाउँदा निराश छु ।” अमीन भटको नाटक ‘फोन नम्बर ७८६’ मा आधारित ‘हमिद’ कश्मीर उपत्यकाका एक बालकको कथा हो जसका बुवा वेपत्ता हुन्छन् र बालक अल्लाह (भगवान) लाई फोन गरेर आफ्ना बाबुलाई फिर्ता बोलाउने प्रयासमा हुन्छन् । फिल्ममा अभिनेत्री रसिका दुग्गल, अभिनेता सुमित कौल र विकास कुमार सहयोगी भूमिकामा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *