लण्डनमा छैटौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

डिसी नेपाल
२६ साउन २०७६ २१:२६

लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्य समितीको आयोजनामा छैटौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतको लण्डनमा सम्पन्न भएको छ । यही अगस्ट ३ देखि ५ तारिखसम्म सम्मेलन भएको थियो। कार्यक्रमको संयोजन तथा व्यवस्थापन अनेसास बेलायत च्याप्टरले गरेको थियो । सम्मेलनमा संसारका विभिन्न देशहरुबाट झण्डै ६ दर्जन नेपाली भाषी साहित्यकारहरु अनेसासका बिभिन्न च्याप्टरहरुको प्रतिनिधित्व गर्दै लण्डन पुगेका थिए ।

लण्डनको दक्षिण पूर्वी शहर वेलिंगमा भएको सम्मेलनको पूर्व सन्ध्यामा लण्डन पुगेका साहित्यकारहरुको स्वागतार्थ बेलायत च्याप्टरले रात्रिभोजको आयोजना गरेको थियो । स्थानीय कम्युनिटी सेन्टरमा अगस्ट ३ मा कार्यक्रमको उदघाटन प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डा दुर्गा बहादुर सुवेदी क्षत्री, बिशिस्ट अतिथि नेपाल प्रज्ञा प्रतिस्ठानका उपकुलपती डा जगमान गुरुङ्ग लगायत अन्य अतिथिहरुबाट दियोमा बत्ति बालेर गरिएको थियो । अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।

फोटो क्रेडिट : मेरो दृष्टि

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत डा. दुर्गा बहादुर सुबेदी क्षत्रीले सभ्यताको माटो बेलायतमा यतिधेरै साहित्यकारहरुको जमघट हुनु नेपाली भाषा र साहित्यको क्षेत्रमा ठुलो फड्को भएको बताए । विशिष्ट अतिथि डा. जगमान गुरुङले भाषा बाँचे संस्कृति र संभ्यता बाँच्ने बताए । उनले साहित्यको सिमाना र क्षेत्र नहुने बताउँदै नेपाली सभ्यता फस्टाएकोमा प्रवासमा नेपाली साहित्यको काम गर्ने अनेसास प्रसंसाको पात्र रहेको बिताऎका थिए ।

उदघाटन समारोहमा अनेसास बेलायतका अध्यक्ष तथा कार्यक्रमका संयोजक सुमल कुमार गुरुङले स्वागत मन्तब्य सहित कार्यक्रमको बारेमा जानकारी गराएका थिए । बोर्ड अफ ट्रस्टी उपाध्यक्ष पदम बिश्वकर्मा, अनेसास केन्द्रका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माइला, गोरखापत्र संस्थानका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन, अनेसास उपाध्यक्ष सुनिल सँगम, नेपाली मानक भाषा अन्तर्राष्ट्रिय संजालका अध्यक्ष प्राडा खगेन्द्र लुइँटेल लगायत, शुभकामना मन्तब्य राखेका थिए ।

सो सम्मेलनमा केन्द्रीय कार्य समितिका पदाधिकारीहरु, बिओटी प्रतिनिधि, संसारभरका च्याप्टर प्रतिनिधिहरु, लगायत अनेसास केन्द्रका पूर्व अध्यक्ष प्रा मोहन सिटौला, बिओटीका सल्लाहकार प्राडा दुर्गा दाहाल, साहित्यकारहरु बिश्वबिमोन श्रेष्ठ, गोवर्दन पुजा, क्रिशु क्षेत्री, कृष्ण बजगाई, डा रुपक श्रेष्ठ, डा कविता लामा, डा रेनुका थापा, डा पुष्पा शर्मा, सुमन घिमिरे, रुद्र पौडेल, सन्ध्या पहाडी लगायत नेपाली समकालीन साहित्यमा कलम चलाउने सयौ व्यक्तित्वहरुको अभुतपुर्व जमघट रहेको थियो । सन्तोश कार्की, कमला रिसाल, बिसी रार्इ लगायतले राष्ट्रिय गीत पनि प्रस्तुत गरेका थिए ।

फोटो क्रेडिट : साकार फोटोग्राफी

सम्मेलनमा केन्द्रीय कार्य समितिबाट घोषणा भएको अनेसास वासुदेव–मालती सम्मान तथा पुरस्कार बरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीका प्रतिनिधिलाई पुरस्कार स्थापनकर्ता डा प्रा दुर्गा दाहाल मार्फत हस्तान्तरण गरिएको थियो । त्यसै गरि अनेसास केन्द्रले साहित्यमा पवन चाम्लिङ्ग, कलामा मदनदाश श्रेष्ठ, संस्कृतिमा डा जगमान गुरुङलार्इ अनेसास विशिष्ट सम्मान प्रदान गरेको थियो । साहित्यकार डा रुपक श्रेष्ठ, लगायत चौथो र पाँचौ सम्मेलनका संयोजकहरु प्रकाश पौडेल ‘माइला’ र गणेश घिमिरेलाई सम्मान गरिएको थियो । यसै अवसरमा सुप्रमा पुरस्कार गजलकार नृपेश उप्रेतिलाई प्रदान गरियो ।

सम्मेलनमा पहिलो दिन केहि प्रतिनिधि कविता वाचन तथा कृतिहरुको विमोचन गरिएको थियो । नेपाली कथाहरुको अनुवाद संग्रह ‘सिल्भर क्यास्केड’, अन्तर्दृष्टि, प्रतिविम्ब (बेलायत), पर्थ स्मारिका, लाभेंदरका परागहरु (पोर्चुगल) लगायत यात्रा स्पर्शका अनुभूतिहरु (सुमल कुमार गुरुङ), रोटीको दन्त्य कथा (लालगोपाल सुबेदी), जीवन बासुरी (मोहन सिटौला), खाप्परेका कथाहरु (रामप्रसाद घिमिरे), मनका तरङ्गहरु – संयुक्त गीति संग्रह, साँझकी शशी (शशि थापा शुब्बा) लगायत दर्जन बढी कृतिहरु प्रमुख अतिथि तथा अन्य अतिथिहरुबाट विमोचित भए । बेलुका साहित्यकारहरुको सम्मानमा राजदुतावासले रात्रिभोज तथा साहित्यिक गोष्ठीको आयोजना गरेको थियो ।

सम्मेलन सफलताका लागि बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्री र सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ्गले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

सम्मेलनको दोश्रो दिनमा डा कविता लामाले ‘वर्तमान नेपाली साहित्यको अवस्था’ बिषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् जसमा डा शान्तिमाया गिरीले टिप्पणी गरेकी थिइन्। यसैगरि दोश्रो सत्रमा बेलायतमा बसेर नेपाली भाषा तथा साहित्यको गहन अध्ययन गरेका प्रा माइकल हार्टको ‘नेपाली लिटरेचर पोस्ट अर्थवेक इन नेपाल’ बिषयक कार्यपत्रमाथि सुमन घिमिरे बर्षाले टिप्पणी गरेकी थिइन् ।

फोटो क्रेडिट : साकार फोटोग्राफी

कार्यक्रमको अन्तिम सत्रमा बेलायत च्याप्टरका सल्लाहकार समेत रहेका डा रुपक श्रेष्ठले ‘डायस्पोरा र नेपाली साहित्य’ बिषयमा प्यानल डिस्कसन चलाएका थिए । उपाध्यक्ष भिमसेन सापकोटाले सकरात्मक सोचको बारेमा प्रवचन दिएका थिए ।

कार्यक्रम संयोजक सुमलकुमार गुरुंगले सबैको साथ र सहयोगले सम्मेलन सम्पन्न भएको र यस साहित्यिक कुम्भ मेलामा संलग्न सबै साहित्यिक मनहरु प्रति आभारी रहॆको बताउदै धन्यवाद ज्ञापन गरेका थिए भने अनेसासका वरिस्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ले आफु सन्योजक रहॆको घोषणापत्र समितीको तर्फबाट पाँच बुंदे लण्डन घोषणापत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा अनेसासका अध्यक्ष राधेश्याम लेकालीले अनेसास नेपाली डायास्पोरिक साहित्यको उत्थानमा सधै क्रियाशील रहने बताऎका थिए ।

सम्मेलनको तेश्रो तथा अन्तिम दिन साहित्यकार विलियम शेक्सपियरको जन्मघरको साहित्यिक यात्रामा पाहुना सहित ठुलो मात्रामा साहित्यकारहरुको सहभागिता थियो ।
कार्यक्रमलाई अनेसासका केन्द्रीय महासचिव गणेश घिमिरे, केन्द्रीय सदस्य लक्ष्मी रार्इ, सानु घिमिरे र सशी थापा शुब्बाले सञ्चालन गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *