गोरखामा धान ‘जोन’ कार्यक्रम शुरु हुने

डिसी नेपाल
२७ साउन २०७६ १२:०८

गोरखा । गोरखामा चालू आर्थिक वर्ष २०७६/७७ देखि धान ‘जोन’ कार्यक्रम शुरु हुने भएको छ। जिल्लामा धान उत्पादन वृद्धि गर्न सङ्घीय सरकार कृषि मन्त्रालयबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धानजोन कार्यक्रम सञ्चालन गर्न लागिएको सो परियोजनाका गोरखा प्रमुख वरिष्ठ कृषि अधिकृत अजय अधिकारीले जानकारी दिए ।

कार्यक्रम सञ्चालन गर्न चालू आवका लागि कृषि मन्त्रालयमार्फत रु एक करोड २९ लाख ८९ हजार बजेट प्राप्त भएको छ । “कार्यक्रम सञ्चालनका लागि क्षेत्र निर्धारण गर्न बाँकी छ”, उनले भने, “प्रस्तावका रुपमा गोरखा नगपालिका, शहिद लखन गाउँपालिका, पालुङटार नगरपालिकालगायत दरौँदी नदी बेसिनलाई आधार बनाइएको छ।”

परियोजना व्यवस्थापन एकाइबाट गठित कार्यदल गोरखा आई जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा अनुगमन गरेपछि मात्र धान क्षेत्रको पहिचान गरिने छ । जिल्लामा ५०० हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन हुनेछ । आउँदो एक-दुई हप्ताभित्रै क्षेत्र निर्धारण भइसक्नेछ ।

उनले चालू आवमा क्षेत्र र योजना तर्जुमा, बाली संरक्षण, आधुनिक कृषि सामग्रीको प्रयोग, माटो सुधार, लाभलागत अध्ययन कार्यक्रम सञ्चालन हुने बताए । त्यस्तै उन्नत प्रविधिको प्रयोगअन्तर्गत मेशिनले धान रोप्ने प्रविधिको प्रयोग, औजार उपकरण वितरण, सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणालीको विकास गरिनेछ।

साना सिँचाइ कार्यक्रमअन्तर्गत ४० वटा साना सिँचाइ आयोजना निर्माणका गरिनेछ। क्षेत्र छनोट गर्दा चैते धानको खेती हुने क्षेत्रको पहिचान गरिनेछ। “उत्पादन बढाउने गरी धान क्षेत्रको विकास गर्ने, वार्षिक रुपमा चामल आयात घटाउने गरी कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयको रणनीतिक योजना हो”, प्रमुख अधिकारीले भने, “यो कार्यक्रमबाट जिल्लाका करीब ७०० किसान लाभान्वित हुनेछन्।”

तोकिएको क्षेत्रमा वर्णशङ्करजातको धान खेतीलाई प्राथमिकता दिइनेछ । गण्डकी प्रदेशको आठ जिल्लामा यो वर्ष कार्यक्रम थप गरिएको हो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *