उपभोक्ता ठग्ने पेट्रोल पम्पमा सिलबन्दी

डिसी नेपाल
२७ साउन २०७६ १२:५६

वीरगञ्ज । पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेट्रोलीयम पदार्थ विक्री गर्दै आएको हेटौँडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल बिक्री गरी उपभोक्ता ठग्दै आइरहेकाले छापा मारी सिलबन्दी गरिएको हो ।

सो फ्युल सेन्टरलाई आवश्यक कारबाहीका लागि तीन दिनभित्र कार्यालयमा हाजिर हुन पत्राचार गरिनाका साथै ठगी मुद्दा चलाइएको कार्यालय प्रमुख शशीभूषण यादवले हामीलाई जानकारी दिए । यसैगरी हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको एसियन पेन्टस् उद्योगले अनुमतिभन्दा बढी नापतौलका उपकरण प्रयोग गरेकाले सो उद्योगलाई समेत कारबाहीको दायरामा ल्याइएको छ।

पेट्रोलियम पदार्थ वितरण गर्दा पम्पहरुमा स्फटवेयर प्रणालीबाट भइरहेको ठगी सम्बन्धमा पहिलोपटक सो ठगीबारे पत्ता लागेको कार्यालयका प्रमुख यादवले बताए । उक्त कार्यालयले आव २०७५/७६ मा अनियमितता गर्ने ५९५ कम्पनीलाई कारबाही गरी रु ८६ लाख ७१ हजार तीन जरिवाना असुल गरेको छ । सो अवधिमा ८९१ पम्पमा जाँच गरिएको थियो भने एक हजार ३७९ व्यापारीले प्रयोग गर्ने नापतौल यन्त्रको जाँच गराएका थिए।

सो कार्यालयले आव २०७५/७६ मा बारा जिल्लाका छ पेट्रोल पम्पमाथि मुद्दा दायर गरी सजाय र जरिवाना गर्नाका साथै छ पम्पमाथि मुद्दा दायर गरेको थियो। यसैगरी चार कम्पनीमाथि मुद्दा चलाउने प्रक्रिया शुरु गरिएको सो कार्यालयले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *