ग्रामीण बस्तीमा तीजका गीतमा परिवर्तनका सन्देश

डिसी नेपाल
२९ साउन २०७६ १४:०६

बाँके । तीज आउन अब अझै दुई हप्ता बाँकी छ । बाँकेका ग्रामीण बस्तीहरुमा तीजका भाकाहरु भने घन्किन शुरु भइसके । दिनभर काममा व्यस्त हुने महिला दिदीबहिनीहरु साँझ परेपछि एक ठाउँमा भेला भएर तीजका गीतसँगै नाच्ने गर्छन् ।

कुनैबेला माया पिरती र सासू–ससुरा, आमा–बुबालगायतलाई व्यङ्ग्य गरिने तीजका गीतहरुलाई हिजोआज परिमार्जन गर्दै स्थानीय कला संस्कृतिको जर्गेनासँगै सचेनताका गीत गाउन थालेका छन् । बाँकेका ग्रामीण बस्तीमा तीज नजिकिँदै गर्दा यस्तै गीतहरु गुञ्जिन थालेका छन् ।

लरक्कै लक्र्यो रातो सारी भुइँमा
भन्देउ न के कम नारी पुरुष दुईमा

हिजोआज जताततै तीजको रमझम भइरहँदा यहाँका गाउँहरुमा शान्ति सुरक्षा, सामाजिक परिवर्तन, लैङ्गिक समानतालगायतका विषयलाई प्रधानता दिइएका गीतहरु गुञ्जिन थालेका छन् । नेपाली समाजमा अहिले पनि व्याप्त छुवाछूत र जातीय विभेदको अन्त्य गर्नुपर्ने, पुरुष र महिलाबीचको असमानता हटाउनुपर्नेलगायतका सन्देशहरु उनीहरुले गीत गाएरै दिन थालेका छन् ।

अहिले त परिवर्तन भएजस्तो ला’छ
पहिले भन्दा समाजमा समानता आ’छ

जिल्लाका ग्रामीण क्षेत्रका महिला पहिलेको भन्दा अहिलेको समाज निकै परिवर्तन भएको आफ्नो गीतबाटै प्रस्तुत गर्ने गर्दछन् । जातीय असमानताका विरुद्ध पुरुष र महिलाले हातेमालो गर्दै एकजुट भएर अघि बढेमा मात्र त्यस्ता कुसंस्कारलाई अन्त्य गर्न सकिने भन्दै सबैलाई एकजुट भएर लाग्न गीतमार्फत उनीहरुले आग्रह गरिरहेका छन् ।

वातावरण फोहर भए झाडाबान्ता लाग्छ
स्वच्छ राखौँ वातावरण सबै रोग भाग्छ

‘केही वर्षअघि मध्य तथा सुदूरपश्चिम क्षेत्रमा फैलिएको झाडापखालालगायतका सरुवा रोगको स्मरण दिलाउँदै घर–आँगनका साथै आफ्नो व्यक्तिगत स्वास्थ्यको ख्याल राख्न सबैलाई आग्रह गछौं’ राप्तीसोनारी गाउँपालिका–१ कुसुमकी माया सुनारले भने । छोरा र छोरी दुवैलाई विद्यालय पठाउन र कुलतमा खर्च गर्ने पैसालाई बचत गरेर छोराछोरीको शिक्षामा लगानी गर्न पनि उनले आग्रह गरे ।

चुरोट सुर्ती खाने पैसा बचत गरौं
त्यै पैसाले बालबच्चा स्कुल पठाउँ

सामाजिक रुपमा अहिले पनि छोरा र छोरीप्रतिको हेराइ र व्यवहारमा परिवर्तन नआएको ठान्ने ती महिलाले समाज र राष्ट्र निर्माणमा छोरा जत्तिकै छोरीहरुको पनि जिम्मेवारी रहेकाले शिक्षामा भेदभाव नगर्न गीतमार्फत नै सबै दर्शकहरुलाई आग्रह गरेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरकी पवित्रा बिष्टले बताइन् । तीजका अवसरमा हुने विभिन्न तीज मिलन कार्यक्रम या गाउँघरमा महिलाहरु जमघट भएर नाच्दा होस् माया पिरतीका गीत कमै मात्र सुनिन थालेको छ ।

महिलाले समाज परिवर्तनका गीतहरु गाउन थालेको बताउँछन् राप्तीसोनारी–६ का पदम घर्तीमगर । तीजमा माया पिरतीका गीत गाउन छाडेसँगै यस क्षेत्रका महिलाहरु यस वर्षको तीज ऋण नलिएरै मनाउने तयारीमा छन् । ‘आफ्नो औकात अनुसारको खर्च गर्ने हो, अरुले जे गर्छ त्यही गर्नुपर्छ भन्ने छैन्’ पवित्राले भनिन् –‘यसपालि ऋण गरेर तीज मनाउने मन छैन ।’ उनी घरमा जे जस्तो खानेकुरा छ त्यही खाने, जे छ त्यही लगाउने निर्णयमा छन् ।

‘ऋण मागेर मिठो खानु, राम्रो लगाउनु, गीत गाउनु, नाच्नु भन्दा यस वर्ष घरमा जे छ त्यहीले तीज मनाउँदै छु’ सुनिता घर्ती भन्छिन् – ‘एकदिनको रमाइलोका लागि साहुसँग ऋण लिएर वर्षभरि ऋण तिर्ने चिन्ता किन व्यहोर्ने ?’ गत वर्ष सुनिताले तीज मनाउनकै लागि गाउँकै साहुसँग ब्याजमा ऋण लिएकी थिइन् । त्यही ऋण तिर्न उनलाई १० महीना लाग्यो । ‘गाँस काटेर ऋण तिर्नुपरेको थियो’– सुनिताले विगत कोट्याउँदै भनिन् ।

भदौ १६ गते नेपाली हिन्दू महिलाले तीज रमझमका साथ मनाउने तयारी गरिरहँदा बाँके राप्तीसोनारीका केही महिलाले भने फरक तरीकाले तीज मनाउने तयारी गरिरहेका छन् । उनीहरु गहना लगाउने पक्षमा छैनन् । नयाँ कपडा पनि पहिरिएर नाच्ने पक्षमा छैनन् । ‘प्रचलित गुन्यौ चोलीमै तीज मनाउने तयारी गरिरहेका छौं’, राप्तीसोनारी–२ कचनापुरकी माया वलीले भनिन् ‘तामझाम भन्दा पनि नयाँ सन्देश दिने गरी तीज मनाउने तयारी गर्दैछौं ।’

तीज आउन तीन हप्ता बाँकी हुँदै जिल्लाका ग्रामीण क्षेत्रका महिला भने दर खाने भन्दै दिदीबहिनीहरु एकै ठाउँमा जम्मा भएर मिठो मिठो खाँदै नाच्दै रमाइलो गरिरहेका छन् । वलीले भनिन् –‘रमाइलो गर्नकै लागि गहना र नयाँ कपडा लगाउनै पर्छ भन्ने छैन । जोसँग जे छ त्यसैमा रमाइलो गर्न सकिन्छ ।’

कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही महिला पनि यो परम्परालाई परिवर्तन गर्ने पक्षमा छन् ।

कोहलपुरकै ३३ वर्षीया सीता सुवेदी पनि सुनिता र मायाले जस्तै तीज मनाउने तयारीमा छन् । ‘पहिले त यसरी तीज मनाउने चलन नै थिएन, देखासिकीमा आएको चलनले तीजलाई भड्किलो बनाइरहेको छ’ उनले भनिन् – ‘मलाई तीजको फाइदाबारे त्यति थाहा छैन । त्यसैले सामान्य तरीकाले तीज मनाउने तयारीमा छु ।’ तीजलाई महिला अधिकारको पर्वको रुपमा पनि लिइन्छ तर, यहाँका अधिकाँश महिलालाई महिला अधिकारबारे थाहा छैन ।

उनीहरूले हरेक वर्ष तीज मनाए पनि आफ्ना अधिकार झल्किने खालका गीत गाउनुको साटो परम्परागत तीज गीत नै रोज्ने गर्दछन् । ‘पढे लेखेको भए अधिकारका कुरा थाहा हुन्थ्यो, श्रीमान्ले जे भन्छ त्यही हाम्रो अधिकार हो’ तीज मनाउने तयारीमा कोहलपुरस्थित एक पसलमा कपडा किन्दै गरेकी शम्शेरगञ्जकी डिलमाया रोकामगरले भनिन्– ‘मलाई त गीत पनि गाउन आउँदैन । अलिअलि नाच्छु मात्रै ।’
‘हुने खानेहरू शरीरभरि सुनका गहना र महङ्गो कपडा लगाएर तीज मनाउँदा आर्थिक अवस्था कमजोर भएकाहरूले पनि देखासिकी गर्छन्, ऋण खोजेर भए पनि उनीहरूको नक्कल गर्दछन् जसले गर्दा उनीहरू साहुको ऋणमा डुब्न बाध्य हुन्छन्’ बैजनाथ गाउँपालिका–१, चिसापानीकी कृष्णा ढकालले भनिन् ‘तर, यस वर्षदेखि नयाँ र सन्देशमूलक कामको शुरुआत गर्नुपर्छ र यसैलाई निरन्तरता दिनुपर्छ ।’

राप्तीसोनारी–९ शम्शेरगञ्जकी ३८ वर्षीया दीपा खड्काले आफ्नो श्रीमान्को दीर्घायुका लागि तीजको व्रत बस्ने गरेको बताइन् । अन्य महिलाले जस्तै सामान्य पहिरनमा तीज मनाउने तयारीमा उनि छन् । उनी भनिछन् ‘धेरै तडकभडक भएर तीज मनाउँदा आउने पुस्ताले पनि सिक्छ, हुनेखाने र गरीब महिलाबीच विभेद देखापर्छ । जे छ, त्यसैले नै तीज मनाउनुपर्छ । महङ्गो गहना र कपडा लगाउँदैमा ठूलो मान्छे भइँदैन ।’ रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *