विज्ञहरुको निष्कर्ष : भूकम्पको दृष्टिले नेपाल ‘टाईम बम’ माथि

डिसी नेपाल
३० साउन २०७६ १६:०४

काठमाडौं। विज्ञहरुले भूकम्पको दृष्टिले मुलुक ‘टाईम बम’ माथि रहेको भन्दै समयमै आवश्यक पूर्व तयारी गर्न सरकारलाई सुझाएका छन्। बिहीबार राजधानीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यशालामा विज्ञहरुले यस्तो सुझाव दिएका हुन्।

भूकम्पको जोखिमका दृष्टिले नेपाल विश्वमा ११ औं स्थानमा रहेको जानकारी हुँदा हुँदै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पूर्व तयारीलाई बेवास्ता गरिएको भन्दै विज्ञहरुले तत्काल पूर्व तयारी थाल्न सरकारलाई सचेत गराएका हुन्।

विपद् व्यवस्थापक विज्ञ डाक्टर गंगाला तुलाधरले भूँईचालोको दृष्टिकोणबाट नेपाल टाईम बम माथि रहेको भन्दै कुनै पनि बेला आइपर्न सक्ने विपद्को पूर्व तयारी सुरु गर्न ढिलाई गर्न नहुने बताए।

नेपालको भौगर्भिक बनोटको साथै कोरिडोर सडकका नाममा नदी नाला मिचेर बनाइएका संरचना, इन्जिनियरिङ अध्ययन विनाको सडक निर्माण, अव्यस्थित र असुरक्षित बस्ती र शहर विस्तार लगायतले बाढी पहिरो जस्तो विपद निम्तने गरेको भन्दै उनले सुरक्षित बसोबासको प्रवन्ध मिलाउनेतर्फ सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए।

उनले विपदपछि खोज र उद्धारलाई भन्दा राहत वितरणलाई प्राथमिकता दिने गरिएको र तात्कालिक आवश्यकताका सूची अनुसार राहत वितरण हुन नसकेको गुनासो गरे। सरोकारवाला तथा सम्बन्धित निकायवीच समन्वय हुन नसक्दा तत्कालको राहत चाउचाउ र चिउरामा सीमित हुने गरेको टिप्पणी पनि उनले गरे।

विपद्का बेला मानवीय उद्धार पहिलो प्राथमिकता भएपनि त्यसो हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे। सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मानवीय संवेदनशीलता खतरामा परेको टिप्पणी उनले गरे। उनले विपद्को समयमा उद्धार गर्न छोडेर सेल्फि लिनेहरुको भीड लाग्नु दुखद भएको भन्दै पहिलो उद्धारकर्ताको रुपमा सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए।

‘बस पल्टिएको छ। मान्छे मरिरहेका छन्। छटपटाइरहेका छन्। त्यो स्थानमा पुलिस, एपिएफ पुगेका छन्। सबैले मान्छे तानेर ल्याइरहेका छन्,’ उनले भने, ‘बाँचेकाहरुले टक्क सेल्फी खिचेर हेरेरहका छन्। ऊ पनि पहिलो उद्धारकर्ता हुनुपर्ने हो। एक सेकेण्ड मात्रै समय दिँदा विपद्मा परेको मान्छे मृत्युबाट बच्न सक्छ। यो कस्तो कल्चर सुरु भयो ? १२ बर्ष पछिको महोत्सव जस्तो लाजै लाग्ने प्रकारको।’

कार्यक्रमका सहभागीले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना र पर्याप्त लगानी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *