तिब्बतीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडा अध्यक्ष पक्राउ

डिसी नेपाल
३१ साउन २०७६ १९:५१

काठमाडौं। कास्कीको पोखरा उपमहानगरपालिकाका एक वडा अध्यक्ष तिब्बतीलाई नेपाली नागरिकता दिलाउन सहयोग गरेको आरेपमा पक्राउ परेका छन्। उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापालाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले डिसी नेपाललाई जानकारी दिए। प्रहरीले शुक्रबार वडाध्यक्ष थापा, वडा सदस्य ज्ञानबहादुर थापा र स्थानीय पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई पनि पक्राउ गरेको छ।

यो प्रकरणमा यसअघि अन्य ८ जना पक्राउ परेका थिए। तिब्बती बाबु र नेपाली आमाबाट जन्मिएका सरु थापा मगर र तासी आङ्मो थापा मगरले गत जेठ २५ र असार ६ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता लिएका थिए । लेखबहादुर थापाका छोरा–छोरी बनेर सरु थापा मगर र तासी आङ्मो थापामगरले कास्की प्रशासनबाट नागरिकता लिएका थिए।

नागरिकता झुटो विवरण दिएर लिएको तथा उनीहरु तिब्बती रहेको पुष्टि भएपछि नागरिकता खारेज भइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता केसीले जानकारी दिए। वडा अध्यक्ष थापाले वडा अध्यक्षको हैसियतमा नागरिकताका लागि अन्तिम सिफारिस गरेका थिए। वडा सदस्य ज्ञानबहादुर थापा र पञ्जिका अधिकारी पौडेलले नागरिकताका लागि प्रारम्भिक सिफारिस गरेका थिए। लेखबहादुरकी छोरीले तिब्बतीसँग बिहे गरेकी थिइन्। उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीबाट वंशजको आधारमा नागरिकता लिएका थिए। त्यसका लागि वडा अध्यक्षसहितले झुटो विवरण बनाएर सहयोग गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयले नागरिकता फाँटका प्रशासकीय अधिकृत ऋषिराम आचार्य, नासु डाँसीराम लामिछाने, खरिदार परशुराम पौडेल र रामचन्द्र थापालाई विभागीय कारवाहीको लागि सिफारिस गरेको छ। त्यस्तै, वडाका पञ्जिधिकारी राजेन्द्र पौडेल र विष्णु पौडेललाई समेत विभागीय कारवाहीको लागि सिफारिस गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *