काङ्ग्रेस प्रवक्ता शर्माद्वारा पोर्चुगलका घाईतेसँग भेट

डिसी नेपाल
३२ साउन २०७६ ७:२२

पोर्चुगल । युरोप भ्रमणमा रहेका नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सडक दुर्घटनामा परी हाल उपचाररत एक नेपाली युवालाई भेट्न अस्पताल पुगेका छन् । यहाँस्थित क्रुज भर्मेलो अस्पतालमा उपचारारत दाङ घोराहीका ३६ वर्षीय लोकेन्द्र पुनमगरलाई नेता शर्माले अस्पताल पुगेर भेटेका हुन्।

नेता शर्माले पुनमगरसँग प्रत्यक्ष भेटेर उनको उपचार र स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिएका थिए । पुनमगर वैदेशिक रोजगारीका सिलसिलामा १० महीना अगाडि पोर्चुगल आएका थिए। पोर्चुगल आएको दुई महिना पनि नपुग्दै पुनमगर काममा जाने क्रममा सडक दुर्घनामा परी गम्भीर घाइते भएको थियो।

उनी यहाँस्थित एक कृषि कम्पनीमा कृषि मजदूरका रूपमा कार्यरत थिए । दुर्घटनामा परी दुई सातासम्म अचेत भएका उनको ढाड, पेट र खुट्टामा गम्भीर चोट लागको थियो। पुनमगरको विगत नौ महिनादेखि उपचार हुँदै आइरहेको छ। नेपाली युवा अस्पतालमा रहेको खबर थाहा पाएपछि बिरामीको आत्मबल र हौसला बढाउने उद्देश्यले राजनीतिक कार्यक्रम र अन्य भेटघाटलाई छोट्याएर बिरामी भेट्न अस्पताल पुगेको नेता शर्माले हामीलाई बताए।

“मेरो विदेश भ्रमण राजनीतिक कार्यक्रम, घुमघाम र तस्बीर खिच्नका लागि मात्र होइन”, शर्माले भने, ”परदेशमा दुःख, पीडा भोगेका र अस्पतालको शय्यामा थलिएका नेपाली दाजुभाइसँग भेटघाट गर्ने र उनीहरुका पीडामा मलम लगाउने पनि हो।” धन कमाउने मिठो सपना बुनेर उज्ज्वल भविष्यको खोजीमा रोजगारीका लागि विदेशभूमिमा आएर यसरी थलिनु अत्यन्तै दुःखद् भएको उनले बताए।

पुनमगरको थप उपचार र आवश्यक सहयोगका लागि सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेललगायत सम्बन्धित निकायसँग पहल गर्ने उनले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *