५६ विद्यालयमा विद्यालय सुरक्षा योजना

डिसी नेपाल
३२ साउन २०७६ १०:१३

बैतडी । दशरथचन्द नगरपालिकाका ५६ सामुदायिक विद्यालयमा विद्यालय सुरक्षा योजना बनाइएको छ। विभिन्न विपद्बाट बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय सुरक्षा योजना अघि बढाइएको हो। बृहत् विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि, २०७५ अनुसार सबै सामुदायिक विद्यालयमा योजना बनाइएको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए।

“यसबाट विपद्बाट बच्नका लागि सहयोग पुग्छ”, उनले भने । युनिसेफ नेपालको सहयोगमा भुमेश्वर सामुदायिक विकास सङ्घले दशरथचन्द नगरपालिकाको समन्वयमा सामुदायिक विद्यालयमा उक्त योजना बनाइएको भुमेश्वर सामुदायिक विकास सङ्घका कार्यकारी निर्देशक मोहनसिंह ऐरले बताए।

बृहत् विद्यालय सुरक्षा परियोजनाअन्तर्गत सामुदायिक विद्यालयमा विद्यालयस्तरीय विपद् व्यवस्थापन समिति गठन, जोखिम नक्साङ्कन र विभिन्न क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालयमा बालबालिकालाई विपद्सँग जुध्न विभिन्न सीपसमेत सिकाइएको छ। यसैबीच युनिसेफ नेपालको सहयोगमा सङ्घले सञ्चालनमा ल्याएको बृहत् विद्यालय सुरक्षा परियोजनाको समीक्षा बैठक शुक्रबार सम्पन्न भएको छ।

दशरथचन्द नगरपालिकामा सम्पन्न कार्यक्रममा परियोजनाले गरेका कामबारे जानकारी गराइएको थियो । परियोजना सञ्चालनमा आएपछि नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यालय सुरक्षा योजना निर्माण, विपद् सम्पर्क शिक्षक तोकिएको, विपद् न्यूनीकरणका विषयमा तालीम दिइएको, विद्यालयको जोखिम नक्साङ्कन तयारलगायत काम गरिएको कार्यक्रम संयोजक मदनराज भट्टले बताए।

कार्यक्रम प्रभावकारी बनाउन दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले आग्रह गरे। बैठकमा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतको सहभागिता थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *