सरकार सञ्चालनको परीक्षामा प्रधानमन्त्री असफल भएको दाबी

डिसी नेपाल
१ भदौ २०७६ १३:५६

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकार संचालनको परीक्षामा प्रधानमन्त्री असफल भएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले संसदसँग गरेको कार्यसम्पादन करार पूरा गर्न नसकेको बताएका हुन्।बजेट कार्यान्वयन सरकारले संसदसँग गरेको कार्यसम्पादन भएको भन्दै उनले त्यो पूरा हुन नसकेकाले प्रधानमन्त्री शासन संञ्चालनको परीक्षामा असफल भएको तर्क गरे।

‘प्रधानमन्त्रीज्यू, तपाइँले मन्त्रीसँग गरेको कार्यसम्पादन करारका बारेमा त औंला उठाउनुहोला, मन्त्री फेर्नुहोला। तर जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खै?,’ उनले भने, ‘हिजो जनताले निर्वाचनमा गरेको कार्यसम्पादन करार पूरा भएन। संसदले अघिल्लो वर्ष कार्यसम्पादन करार गरेको थियो। बजेट कार्य सम्पादन करार हो। संसद र सरकारको। पूरा गर्न सक्नुभएन। यो परीक्षामा असफल भइसक्नुभयो। आउने दिन सफलता प्राप्त होस शुभकामना।’

एक वर्षमै जहाज र रेलको सपना देखाउने सरकार तिथि मिति तोकेर सत्तापक्षले निम्ता गरेको स्मरण गराउदै उनले अहिले भने आधार वर्ष भनेर आर्थिक वृद्धिको बारेमा हल्का टिप्पणी नगर्न प्रधानमन्त्रीलाई सचेत गराए।

लोकतन्त्रका लागि सरकार नलडेको र प्रजातन्त्रका लागि लडेकाले सरकार बनाएको दाबी गर्दै उनले एक पल्टको लडाइँले जीवनभरी जे पनि गर्न अनुमति नदिने भन्दै लोकतान्त्रिक आचरण देखाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा अर्को चुनाव नभएसम्म सरकार नफेरिने भन्दै सडकमा सरकार उल्टाउने सपन नदेख्न गरेको आग्रहका सम्बन्धमा टिप्पणी गर्दै सांसद रिजालले अर्को चुनावपछि नेपाली कांग्रेसको सरकार बन्ने बताए।

‘प्रधानमन्त्रीले भन्नुभयो अर्को चुनाव नभए सम्म यही सरकार रहन्छ। ठिक हो। यस्तो काम देखेपछि त अर्को पल्ट कांग्रेस बाहेक अरु कसको सरकार बन्छ?,’ उनले भने, ‘यसपल्ट त यही सरकार भन्दा तरंग सत्तामा गयो गएन मलाई थाहा छैन। शुभकामना छ सत्ता भित्रै कोही तरंगित नभएको होस्।’

सांसद रिजालले नियमावली अनुसार प्रश्नोत्तरको समय उपलब्ध नगराइएकोमा व्यंग्यात्मक शैलीमा सभामुखको पनि ध्यानाकर्षण गराए। ‘प्रधानमन्त्रीको सम्बोधनको क्रममा प्रधानमन्त्रीलाई तन्दुरुस्त र स्वस्थ देखेर म यति खुसी भए कि प्रश्नोत्तर सोध्नै बिर्सेछु। अरु साथीलाई पनि त्यही परेछ। सभामुखले नियमावली अनुसार प्रश्नोत्तरको समय त पक्कै दिनुभएको थियो। सभामुखले नियमावली मिच्नुहुन्न। मलाइ विश्वास छ। म भिडियो रेकर्ड पनि चेक गर्दिन,’ उनले भने।




प्रतिक्रिया

One thought on “सरकार सञ्चालनको परीक्षामा प्रधानमन्त्री असफल भएको दाबी

Leave a Reply

Your email address will not be published. Required fields are marked *