रवि लामिछानेको समर्थनमा फेसबुकमा प्रहरीलाई ‘भ्रष्ट’ भन्ने युवा पक्राउ

डिसी नेपाल
१ भदौ २०७६ १७:२७

काठमाडौं। कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि उनका समर्थकहरुले चितवनमा प्रदर्शन गरिरहेका छन् । अन्यले विभिन्न स्थानबाट रवि लामिछानेको समर्थनमा सामाजिक संजालमा लेखिरहेका छन् । यसरी लेख्नेमध्ये केही अत्यन्तै तल्लो स्तरमा ओर्लेर गालीगलौजमा समेत उत्रिएका छन् । यही जमातमा प्रहरी अधिकारीलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गर्ने एक युवा अछामबाट पक्राउ परेका छन् ।

लामिछानेका समर्थक ती युवाले काठमाडौं परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई ‘रवि दाइलाई फसाउने यो भ्रष्ट हो’ भन्दै स्टाटस लेखेका थिए। काठमाडौं परिसरको अनुरोधमा मंगलसेन नगरपालिका–५ का २१ वर्षीय शंकर विकलाई पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता कलेन्द्र बिक्रम शाहीले डिसीनेपाललाई बताए ।

‘काठमाडौं परिसरले हामीलाई पक्राउ गरी पठाउने भनी पठाएको पत्रका आधारमा उनलाई समातेर अनुसन्धानका लागि उतै पठाइएको हो,’ शाहीले भने। पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछानेलाई महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको टोलीले न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको थियो। साउन ३० गते पक्राउ परेका लामिछानेमाथि आत्महत्या दुरुत्साहनमा जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *