चितवनमा तनाव भएपछि प्रशासनले गर्यो सर्वदलीय बैठक, मानवअधिकारीवादी संगठनहरुको पनि अपील

डिसी नेपाल
१ भदौ २०७६ १९:१५

काठमाडौं। पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा पत्रकार रवी लामिछाने र यूवराज कँडेल पक्राउपछि चितवनमा उत्पन्न परिस्थितिबारे आइतबार चितवन प्रशासनले सर्वदलीय सवपक्षीय बैठक गरेको छ।

निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा भएको सर्वदलीय सर्वपक्षी बैठकले शान्ति सुरक्षा कायम राख्न र न्यायिक प्रक्रियामा प्रभाव नपार्न सबैमा अनुरोध गरेको छ।

तीनवटा निर्णय गरेको बैठकले निश्पक्ष न्याय सम्पादनका लागि पक्ष र विपक्षमा प्रदर्शन नगर्न भन्दै शान्ति कायमका लागि प्रहरीलाई सहयोग गर्न अपील गरिएको छ। बैठकले शान्ति सुरक्षामा खलल पार्ने, जनताको दैनिक जीवनमा अवरोध गर्ने, न्याय निरुपणमा प्रभाव पार्ने जस्ता क्रियाकलपालाई दुरुत्साहन गर्नेसमेत निर्णय गरेको छ।

यस्तै आइतबारै चितवनस्थित विभिन्न ८ वटा मानवअधिकारीवादी संघ–संस्थाल े विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षा कायम गराउन र न्याय निरुपणमा प्रभाव नपार्न आग्रह गरेका छन् । उनीहरुले पत्रकार पुडासैनी प्रकरणमा निश्पक्ष न्याय निरुपण गर्न माग गरेका छन्।

गएको साउन २० गते चितवनको होटल कङ्गारुमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेका थिए। उनले मर्नुअघि रेकर्ड गरिएको भनिएको भिडियोमा पूर्व सहकर्मी जनतासँग सिधाकुरा टेलिभिजन कार्यक्रमका प्रस्तोता पत्रकार रवी लामिछाने र अर्का पत्रकार यूवराज कँडेल तथा एक युवती अस्मिता कार्कीकै कारण आत्महत्या गरेको उल्लेख गरेका थिए ।

सो भिडियो सावर्जनिक भएपछि प्रहरीले तीनै जनालाई आत्महत्या दुरुत्साहन अभियोगमा नियन्त्रणमा लिएको थियो। उनीहरु हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन् । पत्रकार लामिछाने पक्राउ परेसँग चितवनमा उनको पक्ष र विपक्षमा प्रदर्शनहरु भइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *