बुधबार काठमाडौं आउँदै भारतीय विदेशमन्त्री एस जयशंकर

डिसी नेपाल
१ भदौ २०७६ १९:५१

काठमाडौं। भारतीय विदेशमन्त्री एस जयशंकर आगामी बुधबार काठमाडौं आउने भएका छन्। नेपाल–भारत उच्च स्तरीय आयोगको पाँचौ बैठकका लागि उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

आगामी बुधबार र बिहीबार काठमाडौंमा हुने बैठकमा सहभागी हुन यहाँ आउन लागेका हुन्। नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलगायत उच्चस्तरीय भेट गर्ने परराष्ट्र मन्त्रालयले आइतबार जानकारी दिएको छ।

सन् १९८७ मा स्थानपना भएको नेपाल–भारत उच्च स्तरीय आयोगको पछिल्लो बैठक २०१६ मा दिल्लीमा भएको थियो। बैठकमा नेपाल–भारत सम्बन्धका सबै आयमहरुमा अुला छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा नेपालले खास गरी कनेक्टिभिटीलाई उठाउने तयारी गरेको परराष्ट्र स्रोतले जनाएको छ। नेपालले उठाउने अर्को प्राथामिकताको क्षेत्र भने जलस्रोत तथा ऊर्जा हो। परराष्ट्र स्रोतले भन्यो, ‘कनेक्टिभिटी, जलस्रोत तथा ऊर्जा, आर्थिक साझेदारी, व्यापार वाणिज्य, संस्कृति र शिक्षालगायत द्विपक्षीय चासोका विषयमा छलफल हुनेछ।’

उता भारतको मुख्य चासो भने सुरक्षा रहने भारतीय पक्षले जनाउ दिएको छ। भारतले कनेक्टिभिटी र जलस्रोतमा पनि चासो देखाएको छ।

एस जयशंकर यसअघि २०७२ को असोजमा नेपालको संविधान जारी हुनुभन्दा ठिक अगाडी प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा नेपाल आएका थिए। त्यतिबेला उनले कुटनीतिक मर्यादाभन्दा बाहिरको व्यवहार गरेको चर्चा चलेको थियो। संविधान जारीपछि भारतले लगाएको नाकाबन्दीमा उनको विशेष भूमिका रहेको नेपालमा विश्वास छ । तत्कालीन विदेश सचिब रहेका उनले नेपाललाई संविधान जारी नगर्न दबाब दिएका थिए। तर, नेपालले भारतीय चासो नसुनेर संविधान जारी गरेको थियो। त्यसैको झोंकमा भारतले नाकाबन्दी थोपारेको थियो।

यो पटक जयशंकर फरक भूमिकामा रहे पनि नेपालमा उनीप्रतिको संशय भने यथावत छ । काठमाडौंमा रहँदा उनले गर्ने राजनीतिक भेटघाट पनि महत्वपूर्ण हुने विश्लेषण गरिएको छ। जयशंकरपछि भारतीय उच्च भ्रमण हुने अनुमान गरिएका छन् । भारतीय राष्ट्रपति वा प्रधानमन्त्रीले निकट भविश्यमा नेपाल भ्रमण गर्ने चर्चा काठमाडौंमा भइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *