अवैध उत्खननले बस्ती जोखिममा

डिसी नेपाल
२ भदौ २०७६ १७:५७

महोत्तरी । महोत्तरीको उत्तरवर्ती खयरमाराका ७० घर रहेको बस्ती नदी कटानको जोखिममा परेको छ । बर्दिवास नगरपालिका–१० मा पर्ने सो बस्तीको छेउबाट बग्ने मडहा खोलाबाट अहिले जथाभावी ढुङ्गा, बालुवा र गिट्टी उठाउन थालिएपछि सो बस्तीमा कटानको जोखिम बढ्दै गएको हो ।

खयरमारा नजिकै मडहा खोलाबाट दैनिक ट्याक्टरले प्रतिदिन ढुङ्गा, गिट्टी र बालुवा उठाएर लैजाने गरेकाले सो खोला बस्तीतिर पस्न खतरा रहेको स्थानीयले बताएका छन् । सरकारको नियमानुसार असार, साउन र भदौमा नदीजन्य पदार्थ उठाउन प्रतिबन्ध रहे पनि खयरमाराको नदीबाट ढुङ्गा, गिट्टी र बालुवा निकाल्ने काम भइरहेको छ ।

सरकारले चुरे र चुरे क्षेत्रभन्दा माथिबाट नदीजन्य पदार्थ झिक्न रोक लगाए पनि खयरमारामा सबै नियम, कानूनको बेवास्ता गरी नदीजन्य पदार्थ जथाभावी रुपमा उठाउने गरिएको छ । जथाभावी रुपमा नदी दोहन गर्ने ट्याक्टर चालक तथा मजदूरले वडाध्यक्षको सिफारिसमा नै ढुङ्गा, गिट्टी र बालुवा लगिरहेको बताएका छन् ।

वडाध्यक्ष धनलाल श्रेष्ठले व्यक्तिहरुले जाली भर्नु छ, घर बनाउनु छ जस्ता कुरा गरेर सिफारिस लिन आएपछि थोरै थोरैका लागि सिफारिस दिइएको तर जथाभावी रुपमा गाउँलाई प्रतिकुल असर पर्ने गरी सिफारिस नदिइएको बताए। नगरप्रमुख बिदुर कार्कीले आफूलाई यसबारे कुनै औपचारिक जानकारी नभएको र जानकारी भएमा गाउँ बस्ती नै जोखिममा पार्ने गरी नियम विपरीत नदी दोहन गर्ने जोसुकैलाई पनि कानून बमोजिम कारवाही गरिने बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *