प्रभावमा नपर्न प्रहरीलाई मुख्यमन्त्रीको निर्देशन

डिसी नेपाल
२ भदौ २०७६ २१:४०

धनुषा। मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरीलाई अनुसन्धानका क्रममा कुनै प्रकारको दबाब तथा प्रभावमा नपर्न निर्देशन दिएका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुरमा सोमबार आयोजित प्रदेश सरकारबाट प्राप्त सुरक्षा सामग्रीको हस्तान्तरण तथा निरीक्षण कार्यक्रममा उनले अपराध नियन्त्रणका लागि निष्पक्ष अनुसन्धान हुनुपर्ने भएकाले कसैको दबाब प्रभावमा नपर्न निर्देशन दिएका हुन्।

शान्तिसुरक्षा बिना प्रदेशको समृद्धि सम्भव नरहेकाले प्रदेश सरकार सुरक्षा व्यवस्थाप्रति संवेदनशील रहेको उल्लेख गर्दै उनले प्रदेश प्रहरीलाई आवश्यक सुरक्षा सामग्रीमा कुनै पनि प्रकारको कमी हुन नदिने प्रतिबद्धतासमेत जनाए।

प्रदेश सरकारले यस आर्थिक वर्षमा प्रदेश प्रहरीलाई उपलब्ध गराएको सुरक्षा सामग्री मुख्यमन्त्री राउतले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रधुमनकुमार कार्कीलाई हस्तान्तरण गरे। आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन कुनै कमी नराखिने बताए।

उनले एकाइसौँ शताब्दीमा अपराधको प्रवृत्तिमा समेत परिवर्तन भएकाले सोही अनुरुप प्रहरीलाई रुपान्तरण गरिने उल्लेख गरे। सो अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारीलाई सम्मानसमेत गरिएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *