प्रदेशका योजना : छोटो समयमा उल्लेख्य प्रगति

डिसी नेपाल
३ भदौ २०७६ १०:१५

फिदिम। गत आर्थिक वर्षमा प्रदेश नं १ बाट पाँचथरमा सञ्चालित पूर्वाधार विकासका योजनामा उल्लेख्य प्रगति देखिएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट सञ्चालित पूर्वाधार विकासका अधिकांश योजनामा छोटो समयमै उल्लेख्यरूपमा भौतिक र वित्तीय प्रगति देखिएको हो।

गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयले पाँचथर र ताप्लेजुङमा गरी ७४ पूर्वाधारका योजना सञ्चालन गरेको थियो। यीमध्ये ५० योजना गत आर्थिक वर्षमै पूरा गर्नुपर्ने थिए। गत आर्थिक वर्षमै सम्पन्न गर्नुपर्ने योजनामध्ये दुवै जिल्लामा दुई/दुई योजना मात्रै पूरा गर्न नसकिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख भरतकुमार यादवले बताए। निर्माण सम्पन्न भएकामध्ये एउटा योजना मात्रै उपभोक्ता समितिबाट निर्माण गरिएको र बाँकी सबै ठेक्का प्रक्रियाबाट निर्माणकार्य सम्पन्न गरिएका छन्।

दुई जिल्लाका ७४ योजनामध्ये १५ योजना क्रमागत योजनामा रुपान्तरित भएका छन् भने नौ योजनाको बहुवर्षीय ठेक्कासमेत लागिसकेको कार्यालय प्रमुख यादवले जानकारी दिए। गत आर्थिक वर्षमा उक्त कार्यालयले ६९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आर्थिक वर्षको अन्त्यतिर रु चार करोडको अख्तियारी प्राप्त हुँदा कार्यालयको वित्तीय प्रगति पाँच प्रतिशतले कम देखिएको यादवको भनाइ छ।

सडक तथा सडक पुल निर्माणका ७४ योजनामा रु ५४ करोड ९३ लाख ३२ हजार कूल विनियोजित बजेटमा रु ३७ करोड ३९ लाख ४५ हजार खर्च भएको कार्यालयको तथ्याङ्क छ। उक्त रकममध्ये पाँचथरमा ३८ योजनाका लागि रु २९ करोड १३ लाख ३२ हजार रकम विनियोजन भएकामा रु २१ करोड ५४ लाख ८५ हजार रकम खर्च भएको छ। ताप्लेजुङमा ३६ योजनाका लागि रु २५ करोड ८० लाख रकम विनियोजन भएकामा रु १५ करोड ८४ लाख ६० हजार रकम खर्च भएको कार्यालयले जनाएको छ।

११ जनाको दरबन्दी, हाकिम मात्रै हाजिर

पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र भएको पूर्वाधार विकास कार्यालयमा ११ जना प्राविधिक कर्मचारीको दरबन्दी छ । तर हाल कार्यालय प्रमुख इञ्जिनीयर यादव मात्रै हाजिर छन्। गत आर्थिक वर्षको अन्त्यसम्म कार्यालयमा रहेका केही प्राविधिक कर्मचारीसमेत अहिले समायोजन भई सङ्घ तथा प्रदेश मातहतका अन्य कार्यालयमा गइसकेका छन्।

प्रदेश नं १ का आठ पूर्वाधार विकास कार्यालयमध्ये गत आर्थिक वर्षको कार्यसम्पादनमा पाँथचरस्थित कार्यालय उत्कृष्ट ठहरिएको थियो। तर, कार्यालयमा प्राविधिक कर्मचारी नहुँदा योजना सम्पन्न गर्न समस्या भएको कार्यालय प्रमुख यादवको भनाइ छ।

आर्थिक वर्ष सकिँदासमेत काम निरन्तर

सामान्यतः आर्थिक वर्ष सकिएपछि एक वर्षे विकास योजनाको निर्माणकार्य रोकिन्छ। तर, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत पाँचथरमा सञ्चालित शिक्षा, स्वास्थ्य र खेलकूदसँग सम्बन्धित पूर्वाधारका योजना भने नयाँ आर्थिक वर्ष शुरु हुँदासमेत निर्माणकार्य जारी छ। गत आर्थिक वर्षमै सामग्री खरीद गरी नयाँ आर्थिक वर्षमा जनश्रमदानमार्फत भवन निर्माणका योजनालाई निरन्तरता दिइएको हो। पाँचथरमा स्वास्थ्य कार्यालयमार्फत यी योजना अघि बढाइएका थिए।

कार्यालयका प्रमुख तेजबहादुर तुम्बापोका अनुसार गत वर्ष शिक्षा, स्वास्थ्य र खेलकूदका २३ योजना सञ्चालित थिए। यी सबै योजना उपभोक्ता समितिबाट निर्माण गरिएका थिए। वैशाखमा योजना सञ्चालनका लागि अख्तियारी प्राप्त भएकाले हतारमा योजना सम्पन्न गर्नुपरेको तुम्बापोको भनाइ छ। यीमध्ये केही योजना आर्थिक वर्ष समाप्त भइसक्दा समेत निर्माणकार्य जारी राखेर पूरा गरिएको उनले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *