प्रधानमन्त्री ओलीलाई भएको के हो?

डिसी नेपाल
५ भदौ २०७६ १७:४३

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका छन्। पछिल्लो दुई हप्तामा उपचारका लागि उनको यो दोस्रो सिंगापुर प्रस्थान हो। गएको साउन १८ गते पहिलो पटक सिंगापुर गएका प्रधानमन्त्री ओली ‘स्वास्थ्य लाभ’ गरी साउन २७ गते स्वेदश फर्किएका थिए।

प्रधानमन्त्री ओली उपचारका लागि भन्दै यसरी दोस्रो पटक सिंगापुर जाने तयारी भएपछि उनी उड्नुभन्दा केही घण्टाअघिमात्र उनका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीको स्वास्थ्यबारे औपचारिक जानकारी दिँदै सिंगापुरमा रहँदा गरिने उपचारबारे बताएका छन्।

विगत एक महिनादेखि अस्वस्थ रहेका प्रधानमन्त्री ओलीबारे औपचारिक जानकारी दिइएको यो पहिलो पटक हो। सरकार र प्रधानमन्त्रीका निजी चिकित्सकका तर्फबाट यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे औपचारिक जानकारी नदिइएपछि विभिन्न अनुमानहरु गरिए। साथै प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी पाउने नागरिक अधिकारबारे पनि बहस भए। तर, निजी चिकित्सकले नै प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिएपछि यो विषय गोप्य रहेन।

डा. सिंहका अनुसार प्रधानमन्त्री ओलीमा हाल मिर्गौला सम्बन्धि एण्टिबडीको मात्रा बढेको समस्या छ। यो कुन प्रकारको समस्या हो भन्ने विषयमा भने जानकारी दिइएको छैन। पहिलो पटक सिंगापुरमा रहँदा उनको नेशनल यूनिभर्सिटी अस्पतालमा उपचार भएको थियो। त्यतिबेला भएको स्वास्थ्य परीक्षणमा ओलीमा एण्टिबडी वृद्धिको समस्या देखिएको थियो।

अब प्रधानमन्त्री ओलीको मिर्गौला थप परीक्षण र थप क्षमता वृद्धिबारे उपचार हुने उनका निजी चिकित्सक डा. सिंहले जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविभिमन्त्री गोकुल बाँस्कोटाले पनि बोलेका छन्।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको स्वास्थ्य ‘ठिक’ रहेको जानकारी दिए। उनले प्रधानमन्त्री हिँडेरै विमानस्थलसम्म पुगेको भन्दै उनमा कुनै स्वास्थ्य समस्या नरहेको बताए। सरकारका प्रवक्ताले प्रधानमन्त्रीको स्वास्थ्यबारे स्पष्ट जानकारी नदिए पनि उनका निजी चिकित्सको प्रेस विज्ञप्ति र दुई हप्तामा दोस्रो पटक सिंगापुर उडेपछि प्रधानमन्त्री ओलीमा स्वास्थ्य समस्या बढेको देखिन्छ। ओलीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएकाले पनि उनको स्वास्थ्यबारे चासो बढेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *