अठार हजारभन्दा बढी पर्यटकद्वारा कोशीटप्पुको अवलोकन, सवा करोड राजश्व सङ्कलन

डिसी नेपाल
६ भदौ २०७६ ९:५४

इनरुवा। अर्नाका लागि प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेका कोशीटप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा १८ हजार ७७३ जना पर्यटकले अवलोकन गरेका छन्।

सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७५/७६ मा सो सङ्ख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।

गत आर्थिक वर्षमा आरक्षमा १८ हजार ३८५ नेपाली, ३६ सार्क मुलुकका र ३५२ विदेशी गरी कूल १८ हजार ७७३ पर्यटकले आरक्षको अवलोकन गरेको उनले जानकारी दिए।

आरक्षमा सबैभन्दा बढी कात्तिक महीनामा पर्यटकले अवलोकन गरेका छन् भने सबैभन्दा कम फागुन महीनामा पर्यटक आएको आरक्षको तथ्याङ्कले देखाएको छ। आरक्षमा कात्तिकमा दुई हजार सात सय चार जना पर्यटक आएको छ। तीमध्ये दुई हजार ६६२ नेपाली, सात सार्क मुलुकका र ३५ जना विदेशी रहेका छन्। त्यस्तै फागुनमा महिनामा ८९६ जना पर्यटक आएको छ । तीमध्ये ८२९ नेपाली, तीन सार्क मुलुकका र ६४ जना विदेशी रहेका छन्।

आरक्षमा विभिन्न किसिमका चराचुरुङ्गी, पुतली, अर्ना, हात्तीमा सवार गर्नका लागि पर्यटक आएको आरक्ष प्रशासनले जनाएको छ।

सवा करोड राजश्व सङ्कलन

गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले सवा करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ। प्राधिकरणले आव २०७५÷७६ मा रु एक करोड ४५ लाख ५१ हजार ४० राजश्व सङ्कलन गरेको प्राधिकरण इनरुवा प्रमुख ई. सञ्जीवकुमार साहले बताए। वितरण केन्द्र इनरुवाले जारी गरेको वार्षिक प्रगति प्रतिवेदनमा काटिएका विद्युत्लाइन, कालोपाटी सूची, डाइरेक्ट हुकिङ र मिटर चुहावटतर्फ कारवाहीवापत झण्डै रु एक करोड ५० लाख राजश्व सङ्कलन भएको जनाएको छ।

आव २०७५/७६ मा तोकिएको समयभित्र बिल नबुझाउने ६११ जनाको लाइन काटिएको छ। जसमध्ये ५९७ बाट रु एक करोड २६ लाख ६० हजार ९८० असुली गरिएको प्राधिकरणका इनरुवा प्रमुख साहले बताए। त्यसैगरी प्राधिकरणले १५२ कालोसूचीमा परेकामध्ये केवल छ जनाले मात्र जरिवाना बुझाएको उनीहरुबाट रु चार लाख आठ हजार ७६९ मात्र उठेको छ।

यसैगरी ५०२ डाइरेक्ट हुकिङ हटाएकाबाट रु ११ लाख १४ हजार ५६ राजश्व असुुली भएको प्रमुख साहले बताए। मिटर चुहावट असुली रकम तीन लाख ६७ हजार २३५ रहेको प्राधिकरण इनरुवाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *