‘पार्टीभित्र कुनै विवाद छैन, माधव नेपालको फरक मत हाम्रो सम्पत्ति हो’

डिसी नेपाल
६ भदौ २०७६ १७:४०

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्र बहस भएको विषयलाई थेग्नै नसक्नेगरि विवाद भएको भनेर उछाल्न नहुने धारणा राखेका छन् । उनीहरुले पार्टीभित्र हुने बहस, विवाद र फरक मत राखेको विषयलाई उचाल्न नहुने पनि स्पष्ट पारेका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपाका स्थायी समिति सदस्यद्धय देवेन्द्र पौडेल र आनन्द कुमार पोखरेलले नेकपा विचार केन्द्रित पार्टी भएकोले छलफल, विचार र बहस हुनु नौलो कुरा नभएको जिकिर गरे।

नेता पौडेलले पार्टीभित्र भएका विचार तथा बहसहरु आन्तरिक रुपमा हल गर्न सकिने विषय भएको सुनाए । उनले भने, ‘हाम्रो पार्टीभित्र नेताहरुबीच भएका बहस, विचार र मन्थन थेग्न नसक्ने र सम्हाल्न नै नसक्ने खालका होईनन् । आन्तरिक रुपमा हामी हल गर्छौं ।’

पौडेलले पार्टीको एकता महाधिवेशनसम्म सहमति र समझदारीका साथ अघि बढ्ने विश्वास दिलाए । उनले पार्टी जनमतअनुरुप अघि बढ्ने बताए । उनले भने, ‘जनताको विश्वास जितेर अघि बढ्नुपर्छ । नेताहरुलाई मिलाएर जाने दायित्व छ । हामीले जनताको विश्वास जित्न सक्नुपर्छ ।’ उनले कम्युनिष्ट पार्टीमा सवर्गीय एकत्व हुनुपर्नेमा जोड दिए । उनले भने, ‘को सिनियर, को जुनियर ? भन्ने कुरा यो त पार्टीभित्रको स्वभाविक र जीवन्त प्रक्रिया हो । पार्टीका बैठकहरुमा यस्तैखाले कुराहरु हुन्छन् ।’

यद्धपी उनले पार्टीभित्र आन्तरिक विवाद भयानक नै भयो भन्ने बाहिरी हल्लामा कुनै सत्यता नभएको जिकिर गरे । उनले भने, ‘बाहिर हल्ला भएजस्तो स्थिति छैन, र हामी हुन पनि दिँदैनौं ।’ पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारको लागि सिंगापुर गएको र यो बीचमा महत्वपूर्ण निर्णयहरु भएका पनि उनले सुनाए । उनले भने, ‘उहाँ सिंगापुरबाट फर्किएर आएपछि सदनभित्र प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्नुभयो, संविधानलगायतका विषयमा राष्ट्रिय सहमतिका आधारमा अघि बढ्ने कुरा भयो। उपचारको क्रममा रहँदा यता मन्त्रिपरिषद बैठक बस्नुपर्ने बाध्यकारी अवस्था आयो भने विद्युतीय माध्यममार्फत उहाँले सहभागी जनाउने कुरा भएको छ । उहाँको अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डले बैठकको अध्यक्षता गर्ने र एकताका बाँकी काम पूरा गर्ने कुरा भएको छ ।’

उनले पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले राखेको ‘नोट अफ डिसेन्ट’ को प्रसँगमा पनि पार्टी पद्धतीअनुसार चल्नुपर्छ भन्ने कुरा पार्टीको सम्पत्तिको रुपमा रहने बताए । उनले भने, ‘पार्टीभित्र कुरा राख्दा के नौलो भयो र ? ढुक्क हुनुहोस, पार्टी एकीकरण धेरै कुरा भैसकेका छन्, अब केही खाली ठाउँ भर्ने काम छन् ।’

नेता पौडेलले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पूरा हुनेतर्फ अघि बढिरहेको पनि जनाए । कम्युनिष्ट पार्टी जनवादी केन्द्रियतामा आधारित भएर चल्ने पार्टी भएकोले पार्टीको नियामावली, विधार र प्रतिवेदनअनुसार नै अघि बढ्ने पनि उनको विश्वास छ । उनले भने,‘पार्टीमा सामूहिक निर्णय हुन्छ, व्यक्तिगत जिम्मेवारी पूरा गर्नुपर्छ ।’

पार्टीभित्र नोट अफ डिसेन्ट राख्न पाउनुपर्ने उनको धारणा छ । उनले भने,‘माधव कुमार नेपालले जुन रुपमा नोट अफ डिसेन्ट राख्नुभएको छ, त्यो राख्न पाउनुपर्छ । तर, पार्टीले निर्णय गरेपछि कार्यान्वयन हुनुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *