साफ यू १५ : नेपालको पहिलो जित

डिसी नेपाल
६ भदौ २०७६ १९:३८

काठमाडौं । नेपालले भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलमा पहिलो जित हात पारेको छ । भारतको कल्याणीमा शुक्रबार भएको खेलमा श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।

कल्याणी रंगशालामा नेपाललाई जित दिलाउन शशांक बोहोरा र अशिम राईले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४६ औं मिनेटमा शशांकले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ८३ औं मिनेटमा अशिमले गोल गर्दै नेपाललाई २–० को जित दिलाए ।

जितसँगै नेपालले २ खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा नेपाल भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।

श्रीलंकाको यो पहिलो हार हो । श्रीलंकाले २ खेलबाट ३ अंक नै जोडेको छ । श्रीलंकाले पहिलो खेलमा भुटानलाई ३–२ गोल अन्तरले हराएको थियो ।

अब नेपालले तेस्रो खेलमा मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहीबार भुटानको सामना गर्नेछ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *